नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा उपभोक्ता आफै सचेत भएमा ठगिनबाट जोगिने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । मस्र्याङ्दी गाउँपालिकामा आयोजना गरिएको उपभोक्ता सचेतना कार्यक्रममा त्यस्तो जोड दिइएको हो ।
राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला समितिको संयोजन, मस्र्याङ्दी गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु खान पाउने अधिकार रहेको र त्यसको सुनिश्चितताका लागि उपभोक्ता हामी आफै सचेत बन्न आवश्यक छ भन्नुभयो ।
उहाँले म पनि यहाँहरू जस्तै उपभोक्तानै हुँ म ठगिने कार्यबाट जोगिने गरेको छु किनभने म कुनैपनि खाद्य वस्तुमा उत्पादक कम्पनीको नाम नभएको, उत्पादन मिति र त्यसको वैध मिति नखुलेको खाद्य पदार्थ किन्दिन, यहाँहरूले पनि त्यसै गुर्न होला भन्ने सल्लाह दिनुभयो ।
प्रजिअ ढकालले हिजोका दिनमा बजार अनुगमनको जिम्मा जिल्ला प्रशासन कार्यालयलाई भए पनि अहिले स्थानीय सरकार बनिसकेको अवस्थामा अब यो काम स्थानीय सरकारले नै गर्नु पर्छ यस कुराको जानकारी दिनका लागि पनि हामी यहाँ आएका हौँ, अब गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहितका जनप्रतिनिधिहरूले स्थानीय प्रहरी, पशु, कृषि, स्वास्थ्य लगायतका इकाईका प्रतिनिधिहरूको संयुक्त टोलीले बजार अनुगमन गर्नु पर्दछ भन्नुभयो ।
उहाँले मिति नाघेको खाद्य पदार्थ विक्री नगर्न व्यापारीहरूलाई अनुरोध गर्र्दै मिति समाप्त भएको खाद्यन्न विष सरह हुन्छ त्यसैले त्यस्ता वस्तु विक्री गरेको भेटिएमा कानुन अनुसार कारवाही हुन्छ भन्नुभयो ।
सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला समितिका अध्यक्ष डम्बर अधिकारीले उपभोक्ता संरक्षण ऐन– २०५४ र नियमावली– २०५६ ले उपभोक्तालाई दिएका अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले ‘उपभोक्ता हित संरक्षणमा लगाऔँ ध्यान– सुरक्षित राखौँ सम्पत्ती र ज्यान’ भन्ने नाराका साथ आफूहरू उपभोक्ता ुसचेतना कार्यमा जुटेको जानकारी दिनु भएको थियो ।
उहाँले मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले यो कार्यक्रमले आफूहरूलाई दायित्वबोध गराएको र आउँदा दिनमा उपभोक्ता सचेतनाका थप कार्यक्रम र बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सहायक प्रजिअ मनोहर थापाले गर्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।