चितवन, (नेस) । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउनु मूख्य चुनौती रहेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेश स्तरीय दलित प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले पार्टी भित्र एकता कसरी एक गर्ने भन्ने ठूलो प्रश्न चिन्ह खडा भएको बताए ।
उनले आफू जहिल्यै पनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै भने–“भगवान यहाँ आएर मलाई प्रश्न राखे भने शशांक तिमी के चाहन्छौं भन्दा, म भन्दिन समृद्ध राष्ट्र बनाई दिनुस भगवान, म भन्छु यो पार्टीलाई एक बनाई दिनुस् ।”
पार्टी भित्रको समस्याले चिन्तित देखिएका महामन्त्री कोइरालाले पार्टी एक भएमा काँग्रेसले नै देशलाई समृद्ध बनाउने दावी गरे । उनले नेपाली काँग्रेस जहिल्यै पनि परिवर्तनको पक्षमा रहेको भन्दै काँग्रेसको नेतृत्व विना देश समृद्ध बन्न नसक्ने बताए ।
यसका लागि पार्टी कुनै हालतमा पनि एक हुनुको विकल्प नरहेको उनको भनाई थियो । “हामी बीच एकता भएन भने दुर्भाग्य यही हुन्छकी हामी प्रतिपक्षमा बस्नु पर्छ” महामन्त्री कोइरालाले भने “म ग्यारेन्टीका साथ भन्छु काँग्रेस भित्रको तिक्तता मेटाउन सकेमा काँग्रेस देशको एक नम्बर पार्टी बन्छ ।”
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।