प्रज्वल अधिकारी
सुन्दरबजार लमजुङ
हाल काठमाडौ
कुण्ठा !
लौ भन्नुस त महोदय !
कुण्ठाको आयु कति हुन्छ ?
निकै भावुक हुनुहुन्छ हजुर आजभोली
अलि बढी नै हतारमा पनि
रिसले कहिलेकाहिँ के के फलाक्दै हिँड्नुहुन्छ !
भन्नुस् न महोदय !
कुण्ठाको आयु कति हुन्छ ?
ओहो ! अप्सन पो चाहियो !
लौ लिनुहोस –
पुरस्कार नपाउन्जेल
सम्मान नओढुन्जेल
अवार्ड नउचालुन्जेल
मदन पुरस्कारको सुचीमा नपरुन्जेल
पद्मश्रीले नडाकुन्जेल !
अब म तपाइँलाई
केही र्यापिड फायर प्रश्नहरू सोध्नेछु –
कछुवा र कविता
जिन्दगी कसको लामो हो ?
छिच्मिरा र कविता
कसको आयु छोटो हो ?
बिज्ञापन र कविता
कुन बढी टिकाउ हुन्छन ?
अन्तर्वार्ता र कविता
कुन चाहिँ जिवन्त हुन्छ ?
तपाइँको कुण्ठा र कविता
कुन ज्यादा शक्तिशाली छ ?
तपाइँ र कविता
को धेरै बाँच्ला ?
भन्नुस न महोदय !
तपाइँको अनुहार राम्रो कि कविता ?
तपाईंभित्रको ‘म’ र कविताको ‘म’
कसमा धेरै छ अहम् ?
तपाईंको बिरोध र कविता
कुन ज्यादा तर्कसंगत छ ?
तपाईंको लेखन र तपाइँ कवि
कत्तिको न्यायोचित छ ?
अन्तिम प्रश्न –
तपाईंका कविताले
देश जोड्छ कि टुक्र्याउँछ ?!