बिराटनगर (नेस) । प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धी नयाँ कानून लागू भएको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक पारित गरेसँगै नयाँ कानून लागू भएको हो ।
संसदमा पेश भएको उक्त विधेयक संशोधनसहित पारित भएको हो । विधेयकमा प्रस्तुत दफा ११ को उपदफा १, २ र दफा १२ को १, २, ३ र दफा १६ को उपदफा १ संशोधन भएको हो ।
उक्त दफामा कुनै पनि टेलिभिजन तथा एफएम, रेडियोको कार्यक्रम बन्द गराउने, र इजाजत रद्ध गराउन सक्ने प्रावधान रहेको थियो ।
त्यस विषयमा नेकपाका सांसद विमल कार्की, सावित्रा कुमारी रेग्मी, लछुमन तिवारी, राजेन्द्र कुमार राई र नेपाली कांग्रेसका संसदीय दलका सचेतक केदार कार्कीले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो । संशोधन प्रस्ताव उपयुक्त रहेको र प्राविधिक त्रुटीका कारण केही कमजोरी भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जवाफ दिँदै संशोधन स्वीकार गरेपछि सर्वसम्मतीले उक्त विधेयक पारित भएको हो ।
पारित विधेयकमा कानून अनुसार कार्यक्रम प्रसारण नगरे सचेत गराउने र सचेत गराउँदा समेत अटेरी गरेको खण्डमा रु.१० हजार देखि १ लाखसम्म जरिवाना गराउनसक्ने प्रावधान राखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।