शूर बहादुर सिंह,सुर्खेत।
खत्याड गाउँपालिका–११ मुगु लुई गाउँकी १०३ वर्षीया देउसरा कार्कीले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मुगु खत्याड गाउँपालिकामा जेठ ३० गतेदेखि सञ्चालित एकीकृत घुम्ती शिविरमा कार्कीलाई नागरिकता प्रदान गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । छत्तीस वर्षमात्र आयु भएका नागरिकको जिल्ला भनेर चिनिएको मुगुमा १०३ वर्ष उमेरसम्म बाँच्ने र जीवनको अन्तमा भएपनि नागरिकता पाउने देउसरा पहिलो भाग्यमानी महिला हुनुहुन्छ ।
ओरालो लागेको जीवनको अन्तमा भएपनि नेपाली नागरिक हुन पाएकामा देउसराले खुशी व्यक्त गर्नुभयो । “योभन्दा अघि जिल्लाको कुनै हाकिम यहाँ आएनन्, यतिबेला सिडिओ साब पहिलो पटक घरदैलोमा आएर नेपाली नागरिक हुने मौका दिनु भएको छ, मलाई ठूलो खुशी मिलेको छ,” हर्षित मुद्रामा कार्कीले भन्नुभयो र प्रजिअ अधिकारीलाई फलिफाप होस् भनेर आशीर्वाद दिनुभयो ।
प्रजिअ अधिकारीले औसत आयु ४६ वर्ष भएको मुगु जिल्लामा १०३ वर्षको आमालाई नागरिकता दिन पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताउनुभयो । “अशिक्षा, गरिबी र लुई गाउँ दुर्गम भएर होला, आमाले नागरिकता लिन पाउनु भएको रहेनछ,” उहाँले भन्नुभयो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।