काठमाडौँ, (नेस) ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र संयुक्त राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीहरूबीच अमेरिकाको न्युयोर्कमा शिष्टाचार भेट भएको छ ।
संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको द्धितीय सम्मेलन–२०१८ मा सहभागी हुन त्यहाँ पुगेका बेला खनाल र संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, राष्ट्र संघका शान्ति मिसन हेर्ने उपमहासचिव जेइन पियर्रे ल्याक्रोइक्स, कानुनी शासन हेर्ने सहायक महासचिव एलेक्जेण्डर जोयूभ तथा राष्ट्र संघका प्रहरी विभाग प्रमुख प्रहरी सल्लाहकार लुइस कार्लिल्हो, प्रहरी उपप्रमुख साओवेन याङ, राष्ट्र संघीय प्रहरी भर्ना छनौट महाशाखाका प्रमुख अट एनिगुन, एफपियू कोअर्डिनेटर भिक्टोर हेरनान्डेज, स्याट कोअर्डिनेटर इयास महाडेन लगायतबीच भेट भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।
भेटका अवसरमा राष्ट्र संघीय उच्च पदस्थ पदाधिकारीहरूले नेपालले राष्ट्र संघलाई पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै आगामी दिनमा सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपालले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा द्वन्द्व पछिका विभिन्न संकटग्रस्त मुलुकमा शान्ति स्थापनामा इमान्दारीपूर्वक जिम्मेवारी पुरा गरेको, नेपाल प्रहरीले आफ्ना व्यवसायी, अनुभवी, सीप तथा क्षमतायुक्त प्रहरी कर्मचारीलाई आइपिओ, एफपिओ तथा राष्ट्र संघको प्रधान कार्यालय तथा फिल्ड मिशनमा खटाएर विश्व शान्ति, द्वन्द्वपछि तहसनहस भएका प्रहरी संगठनहरूको निर्माण एवं पुनर्निर्माण कार्यमा सहयोग गरेको स्मरण गर्नुभयो ।
नोपल प्रहरीको तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, घरेलु एवं लैंगिक हिंसाका घटनाको न्यूनिकरण र नियन्त्रण, नागरिकको संरक्षण, अन्तर्देशीय अपराध तथा आतंकवाद नियन्त्रण गर्ने कार्यमा पनि सहयोग पुर्याएको उल्लेख गर्दै
प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा यस्तो सहयोगको निरन्तरता रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्र संघका पदाधिकारीहरूले संयुक्त राष्ट्र संघका महासचिवको कार्ययोजना अनुसार सन् २०२० सम्ममा राष्ट्र संघमा महिला सहभागितालाई २० प्रतिशत पुर्याउने लक्ष्य रहेकाले सदस्य राष्ट्रहरूले आ–आफ्नो भर्ना प्रणालीमा तद्अनुरुप मिलाई महिला प्रहरी संख्या बढाउन सुझाव दिनुभएको थियो ।
यस प्रसङ्गमा प्रहरी महानिरीक्षक खनालले राष्ट्र संघको आवश्यकताअनुसार प्रहरी कर्मचारी भर्नामा महिला सहभागिता बढाउने उद्देश्यले सकारात्मक पहल थालिएको र मिसनमा बढी भन्दा बढी महिला सहभागिता गराउने तयारी भएको बताउनुभएको थियो ।
नेपालमा फ्रेन्च भाषाको सीपलाई महत्व दिई त्यसमा तालिम प्रदान गर्न सुरुवात गरिएकोबारे पनि उहाँले जानकारी गराउनुभएको थियो ।
प्रहरी महानिरीक्षक खनाल बुधबारदेखि सुरू हुने उक्त सम्मेलनमा सहभागी हुन असार ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।