काठमाडौं । फिल्म ‘पुरानो बुलेट’ निर्माणको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा भिषण राईले निर्देशन गर्न लागेका यो फिल्मको घोषणा गरिएको हो । राईले यसै फिल्म ‘पुरानो बुलेट’बाट नेपाली फिल्म इन्डष्ट्रिमा एक्शन कट गर्दैछन् ।
यो फिल्ममा अभिनेता अनुप बिक्रम शाही मुख्य भुमिकामा रहनेछन् । अनुपको साथमा अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुका अलवा यो फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायत कलाकारहरुकाे अभिनय रहनेछ ।
निर्माण पक्षले जानकारी दिए अनुसार यो फिल्म यही असारको १५ गतेबाट फ्लोरमा जाँदैछ । त्यस्तै एक करोडको लागतमा यो फिल्म बन्दै गरेको निर्माण पक्षले जानकारी गराएका छन् ।
निर्देशक राईका अनुसार यो फिल्मलाई पूर्वका विभिन्न जिल्लाहरुमा छायाङ्कन गरिदैछ । फिल्मलाई आगामी मंसिरबाट दर्शकमाझ रिलिज ल्याउने निर्माण पक्षको योजना रहेको छ ।
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको यो फिल्मलाई विरेन साम्बा, टिकाराम राई, दीपेन्द्र लिम्बु र अशोक साम्पाङ्गले निर्माण गर्न लागेका हुन् । कार्यकारी निर्माताको रुपमा सन्तोष राई रहेका छन् ।
कार्यक्रममा उपस्थित अभिनेता शाहीले नयाँ टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताएका छन् भने अभिनेत्री वर्षाले आफ्नो जन्म भएको ठाउँमा सुटिङ हुने हुँदा खुसी लागेको बताएकी छन् । त्यस्तै नेपाली भाषा खासै बोल्न नआउने अर्की अभिनेत्री माला लिम्बुले पनि ‘पुरानो बुलेट’ मा जोडिन पाउँदा खुसी व्यक्त गरेकी छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।