नयाँदिल्ली
भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना महिला रहेका छन् ।
मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
स्थानीय प्रहरी प्रमुख अमित साङघीले सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार पारिवारिक काममा हिँडेका २० जना पारिवारिक सदस्यहरू जीपमा चढेका थिए । विपरित दिशाबाट आएको ट्याक्टरले सो जीपलाई ठक्कर दिएपछि स्थानीय समय अनुसार विहान ५.३०मा दुर्घटना भएको हो ।
दुर्घटनामा परेको जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् ।
“घटनामा परी अरु पाँच जना घाइते भएका छन् र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ,” एक स्वास्थ्यकर्मीले भने ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यअधिकारीहरूले अनुमान गरेका छन् ।
घाइते अधिकांशलाई टाउकोमा चोट लागेकाले सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।
मध्य प्रदेशका स्वास्थ्य मन्त्री रुस्टम सिंहले अस्पतालमै पुगेर घाइतेहरुलाई भेट्नु भएको छ । उहाँले घाइतेहरुको उपचारमा कुनै कमी नहुन निर्देशन दिदै घटनाका बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि गर्नुभएको छ ।
भारत विश्वमै अत्यधिक धेरै सवारी दुर्घटना हुने मुलुकमा पर्दछ । चालकको लापर्वाही, सडकको खराब अवस्था र सही अवस्थामा नरहेका सवारी साधनहरू संचालन गरिने भएकाले दुर्घटना धेरै हुने गरेको बताइएको छ । रासस/सिन्ह्वा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।