म्याग्दी (नेस)
अवैध रुपमा खोलामा बालुवा उत्खनन्मा प्रयोग भएको तीनवटा ट्याक्टर र एकवटा स्काभेटरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गास्थित म्याग्दीखोलामा स्काभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा निकाल्ने कार्यमा संलग्न सवारीसाधन र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएर गएको प्रहरी टोलीले ट्याक्टर, स्काभेटर र चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा जिल्लाको बारपाकका २० वर्षीय अमृत परियार र ग १ त ५२३३ नम्बरको ट्याक्टर, मालिका–६ दरबाङका कागबहादुर मगर र ग १ त २८०७ नम्बरको ट्याक्टर रहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताए ।
यसैगरी मालिका–४, ओखरबोटका २० वर्षीय दलमान विक र ध १ त ३२४ नम्बरको ट्याक्टर तथा ग १ क २४६८ नम्बरको स्काभेटर र सहचालक राजु भण्डारी रहेको प्रनाउ बुढामगरले जानकारी दिए । पक्राउ परेका चालकमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।