प्रताप बानियाँ, म्याग्दी।
महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकहरुको अधिकारका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज म्याग्दीको गलेश्वरमा आयोजना गरेको ज्येष्ठ नागरिकसम्बन्धी प्रदेशस्तरीय समीक्षा तथा अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री थापाले ज्येष्ठ नागरिकका लागि वर्तमान सरकार अत्यन्तै संवेदनशील रहेकाले उनीहरुको अधिकार र सुविधाका लागि मन्त्रालय गम्भीर ढंगले लागिपरेको बताउनुभयो । उहाँले समाजको संवेदनशील अङ्गका रुपमा रहेका ज्येष्ठ नागरिकहरुको सम्मानमा आवश्यक कार्यक्रम सञ्चालनका लागि विज्ञहरुसँग छलफल थालिएको बताउँदै ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभएको छ ।
ज्येष्ठनागरिकलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता आगामी पाँच वर्षभित्रमा पाँचहजार पु¥याइने बताउँदै मन्त्री थापाले तत्कालका लागि ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले देशका हरेक अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्न छुट्टै कक्ष स्थापना गरिने भन्दै ज्येष्ठनागरिकको हक अधिकारका लागि बजेट, नीति तथा कार्यक्रममार्फत विशेष सम्बोधन गरिएको बताउनुभएको छ ।
नेपालीहरु विदेशिने क्रमले ज्येष्ठनागरिकको स्याहारसुसार, हेरचाह र औषधी उपचारमा आफन्त कोही नहुँदा उनीहरुले दुःख पाएकोले ज्येष्ठनागरिक ऐन संशोधन गर्न लागिएको मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले छोराछोरीले आफ्नो पारिश्रमिकबाट कम्तीमा पनि बाबुआमाको खातामा १० प्रतिशत रकम बचत गरिदिनुपर्ने व्यवस्था गरिने बताउनुभयो । उहाँले बाबुआमाको विशेष हेरचार र रेखदेखमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
परिवर्तित सन्दर्भमा अब देशका हरेक वडाबाट ज्येष्ठनागरिकको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको उचित व्यवस्थापनमा लाग्नुपर्ने मन्त्री थापाको भनाई छ । ज्येष्ठनागरिकको उत्थान गर्न स्थानीय तहले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै ज्येष्ठनागरिकप्रति सबैले माया र सद्भाव देखाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले ज्येष्ठनागरिकलाई लक्षित गरेर विशेष कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै ज्येष्ठनागरिकप्रति सबैले माया, ममता र हौसला दिनुपर्ने बताउनुभयो । उहाँले म्याग्दी भ्रमण वर्ष–२०७५ घोषणा गरिएको भन्दै म्याग्दीमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको भ्रमणमा ज्येष्ठनागरिकलाई पनि सहभागी बनाउनुपर्ने बताउनुभएको थियो । नेपाल सरकार र मन्त्रालयको निर्देशनमा जिल्लामा स्थानीय तहसँग आवश्यक समन्वय गरेर ज्येष्ठनागरिकसम्बन्धी कार्यक्रमहरु गर्ने गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।
दुई दिनसम्म चल्ने ज्येष्ठनागरिकसम्बन्धी प्रदेशस्तरीय समीक्षा तथा अनुशिक्षण कार्यक्रममा प्रदेशनम्बर ४ का १० ओटा जिल्लाका ज्येष्ठनागरिकका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा ज्येष्ठनागरिकका विषयमा अन्तत्र्रिmया एवं छलफल गरेर निचोड निकालिने आयोजकले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।