रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पुर्वी पहाडी जिल्लाहरुको सबैभन्दा ठूलो र ब्यवस्थित खेल मैदान निर्माण भईरहेको छ । बुइपा ईलाभेन स्पोर्टस क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप बिकास भईरहेको हो ।
देशबिदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीसँग आर्थिक संकलन गर्ने अभियान जारी गर्दै ३३ रोपनी जग्गा खरिद गरी खेलमैदान निर्माण कार्य शुरु गरिएको थियो । १ सय ४० मिटर लम्बाई र ९५ मिटर चौडाई रहेको खेलमैदान तीन बर्ष अघिदेखि नै सञ्चालनमा ल्याईए पनि ब्यवस्थित गर्ने कार्य जारी रहेको क्लबको अध्यक्ष सुनिल राईले बताउनुभयो ।
जग्गा खरिद, मैदान निर्माण तथा ब्यवस्थापनको लागि पूर्ब सभाषद पाँचकर्ण राई(पीके)को संसदीय बिकास कोष अन्तर्गत ४० लाख, राष्ट्रिय खेलकुद परिषद्को २० लाख र दाताहरुबाट संकलन भएको समेत गरी करिब दुई करोड रुपैंयाँ रकम खर्च भईसकेको अध्यक्ष राईको भनाई छ । खेलमैदान परिसरमा सौचालय निर्माण भईसकेको छ भने हाल बिशिष्ट ब्यक्तिहरुका लागि आसन कक्ष सहितको ब्यवस्थित मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक तला मार्थि उठाएर निर्माण गरिएको मञ्चमा एट्याच ट्वाईलेटको समेत ब्यवस्था गरिएको छ ।
आर्थिक बर्ष २०७५÷७६ भित्रै दर्शकको आवश्यक्ता अनुरुप प्याराफिट निर्माण गर्ने कार्य शुरु गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । मैदान परिसरमा खानेपानीको ब्यवस्था गर्न बाँकी रहेको छ । फुटबलको मापदण्डमा ईलाभेन साईजको बनाईएको खेल मैदानको चारैतिर कम्पाउण्ड सहितको प्याराफिट निर्माण गर्ने योजना रहेको निर्माण उपभोक्ता समितिले उल्लेख गरेका छन् ।
जिल्लाको अन्य स्थानहरुमा समेत खेलमैदान सञ्चालनमा रहे पनि मापदण्ड अनुरुप बिकास गर्न सकिएको छैन । जिल्ला र तराई जोड्ने छोटो मार्ग सगरमाथा लोकमार्ग अन्र्तगत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने भएकोले पनि उक्त खेलमैदानको बिकासमा केन्द्रीत हुनुपर्ने स्थानीय बताउँछन् ।
खेलकूद कार्यक्रम आयोजना र सहभागिताका लागि समेत बुइपा उपयुक्त भूगोल रहेको स्थानीय दावी गर्छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।