
नेपाल समाचारपत्र, काठमाडौं
छिमेकी मुलुक चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली टोलीले शनिबार तिब्बतको क्यूसी काउन्टीमा रहेको ‘चाइना नेसनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको छ ।
उच्च भेगमा आधुनिक प्रविधिबाट कृषि उत्पादन बढाउने लक्ष्यका साथ सो पाइलट जोन सञ्चालनमा छ । तिब्बत जनसरकारले सञ्चालन गरेको आधुनिक कृषि परियोजना विश्वमै उदाहरणीय बनाउने लक्ष्य लिइएको छ । शनिबार नै नेपाली टोलीले तिब्बतको ‘फोर सिजन ह्याप्पी भिलेज’को समेत अवलोकन गरेको छ ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको सो एकीकृत नमुना गाउँ चिनियाँ कम्युनिस्ट पार्टीले स्थापना गरेको हो । प्रधानमन्त्रीसहितको टोलीले विश्व प्रसिद्ध पोतला दरबार र जोखान मन्दिरको समेत अवलोकन गरेको छ । तत्कालीन तिब्बेतियन सम्राट् एवं लिच्छवि राजा अंशुवर्माका ज्वाई स्रङचङ गम्पोको पहलमा निर्माण भएको सो दरवार विश्व सम्पदा सूचीमा सूचीकृत छ । नेपालीपन झल्किने सो मन्दिर अंशुवर्मापुत्री भृकुटीको पहलमा निर्माण भएको हो ।
नेपाली टोलीको सम्मानमा शनिबार ल्हासास्थित वाणिज्य दूतावासले रात्रिभोजको आयोजना ग¥यो । सो जमघटमा वाणिज्य दूतावासका कर्मचारी, तिब्बती नेपालीहरुको समेत उपस्थिति रहेको बताइएको छ । ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आज आइतबार बिहान स्वदेश फर्किदै हुनुहुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।