यमलाल भुसाल, बुटवल
बिवादित सामुदायिक वन उपभोक्ता समितिबाट राजीनामा गरेका ततकालिन एमाले नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।
वनमा उत्पन्न विवाद मिलाउन र समस्या समाधानको बाटो खोज्नुको साटो नेकपा एमाले बुटवल नगर कमिटिले आफ्ना कार्यकर्तामाथि कारबाहीको डण्डा घुमाएको उनिहरुले बताए । बुटवल सामुदायिक वनमा बिवाद भै दुईवटा समानान्तर समिति बनेको र बिवादित समितिमा बस्न नसक्ने भन्दै रबिन्द्र लाकौल नेतृत्वको समितिबाट ५ जनाले राजीनामा दिएका थिए । उक्त समुहबाट राजीनामा दिनेमा ३ जना एमाले र दुई जना काँग्रेस कार्यकर्ता हुन ।
बिवादित सामुदायिक वन समितिबाट राजीनामा दिएका हिक बहादुर दर्लामी हितक र जिवलाल पौडेल जिवनलाई पार्टीले पत्र काटेर कारबाही गरेको जानकारी गराउँदै स्पष्टिकरण सोधेको छ । साथै माधव प्रधान समुहलाई सहयोग गरेको र प्रधान नेतृत्वको समितिमा रहेका उपाध्यक्ष जुद्धबहादुर केसी, सदस्य निर्मला भण्डारी र सल्लाहकार टिकाराम शर्मालाई समेत एमाले नगर कमिटीले कारबाही गरेको छ ।
नगर ईन्चार्ज ऋषि पाण्डेद्वारा हस्ताक्षर गरिएको स्पष्टिकरण पत्रमा पार्टीको आदेश नमानेको, पार्टी हित बिपरित कार्य गरेको र सरसल्लाह नगरि राजीनामा गरेको लगाएतका आरोप लगाउँदै पार्टी सदस्यबाट निलम्बन गरिएको कारबाहीमा परेकाले जनाएका छन ।
कारबाहीका परेकाहरुले पत्रकार सम्मेलन गरेर पार्टी नगर कमिटिमा लिखित तथा मौखिक स्पष्टिकरण बुझाईसकेको बताएका छन । सामुदायिक वन उपभोक्ता समुह, बुटवल १–२ बाट राजीनामा दिएका र अर्को समितिमा बसेका पदाधिकारी र सदस्यसमेत ५ जनालाई पार्टीको निति र सिद्धान्त बिपरित कार्य गरेको भन्दै नेकपा एमाले बुटवल नगर समितिले लिखित स्पष्टिकरण सहित कारबाही गरेको हो ।
सामुदायिक वन उपभोक्ता समुह, बुटवल १–२ बाट राजीनामा दिएका हिक बहादुर दर्लामी (हितक), जिवलाल पौडेल (जिवन) र माधव प्रधान नेतृत्वको प्रजातान्त्रिक समुहमा बसेका उपाध्यक्ष जुद्धबहादर केसी, सल्लाहकार टिकाराम शर्मा र सदस्य निर्मला भण्डारीलाई पार्टी सदस्यबाट निलम्बन गरि कारबाही अघि बढाईएको संचारकर्मी समक्ष बताएका छन ।
कारबाहीका लागि पठाइएको पत्रमा आफुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको र लिखित स्पष्टिकरण मागिएको प्रधान नेतृत्व वन उपभोक्ता समितिका उपाध्यक्ष रहेका एमालेका जुझारु कार्यकर्ता जुद्धबहादुर केसीले बताएका छन ।
पार्टीमा आफुहरुले सामुदायिक वनको हितार्थ काम गरेको र पार्टी हित बिपरित कुनै काम नगरेको भन्दै लिखित स्पस्टिकरण दिएको केसीले बताए । पार्टीका केही अगुवाहरुले सामुदायिक वनमा अनावश्यक राजनैतिक हस्तक्षेप गरेको र बिवाद मिलाउने प्रयत्नै नगरि कारबाहीको डण्डा घुमाएको भन्दै उनले आपत्ती समेत जनाएका छन । पार्टी नगर समितिले कुरै नबुझी केही भडुवाहरुको ईशारामा कारबाहीको प्रकृया अघि बढाएकोमा उनले चिन्ता ब्यक्त गरेका छन । यस्तै अवस्था रहे पार्टीबाटै राजीनामा गर्ने चेतावनी समेत उनले दिएका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।