राजबिन थापा, जापान ।
जापानको पश्चिमी शहर कोबे स्थित जल विभागमा काम गर्ने एक सरकारी कर्मचारीले खाजा खाने समय भन्दा तीन मिनेट अघि आफ्नो कक्ष छाडेर हिँडेको तथ्य फेला परेपछि उक्त कार्यालयका प्रमुख सहित जिम्मेवार अधिकारीहरुले सार्वजनिक रुपमा माफी मागेका छन् । सो कार्यालयमा कार्यरत ६४ बर्षिय कर्मचारीले पछिल्लो सात महिनामा २६ पटक लञ्च समय भन्दा ३ मिनेट अगाडी नै आफ्नो डेक्स छाडेको घटनामा दोषी पाइएपछि यसबाट सेवाग्राही तथा सरकारी काममा परेको असरको लागि क्षमा मागेका हुन् ।
दिउँसोको खाजा समय १ बजे सुरु हुने भएपनि उनले १२ बजेर ५७ मिनेटमै आफ्नो कक्ष छाडे तथ्य फेला परेको थियो । सात महिनासम्म उनी गयल भएको समय जोडेर एक दिनमा पाउने तलबको आधा बराबरको तलब कटौती गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा विभागले भन्यो, ‘हाम्रो लञ्च ब्रेक दिउँसो १ बजे हुन्छ । तर दोषी अधिकारीले यस अघि नै आफ्नो डेस्क छोडे । हामी यस्तो प्रकारको व्यवहारको खेद गर्छौं, हामी माफी माग्छौं । जल विभागका अधिकारीका अनुसार उनलाई सार्वजनिक सेवा कानुनको उल्लंघन गरेको दोषी पाइएको थियो । यस कानून अनुसार, वर्किङ आवरको क्रममा कर्मचारीले आफ्नो ध्यान काममा मात्र लगाउनुपर्छ ।
जल विभागका अर्का एक अधिकारीले यस वर्ष कै फेबु्रअरीमा कार्यालय समयको क्रममा खाजा खान डेस्क छोड्दा एक महिनाका लागि निलम्वन गरिएको थियो । ती व्यक्तिलाई ६ महिनामा ५५ घण्टासम्म अनुपस्थित भएको पाइएपछि निलम्वन गरिएको थियो ।
जापानको यो समाचार पढेपछि विभिन्न देशका समाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने विरोध गरेका छन् । । ट्वीटरमा एक प्रयोगकर्ताले लेखे, ‘यो त पागलपन हो, के कोही आफ्नो डेस्कबाट चुरोट पिउन समेत उठ्न सक्दैन’ यस्तै, अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो एउटा भद्दा मजाक हो, के यसको अर्थ मानिसहरु शौचालय पनि जान पाउँदैनन् ’ तर यो कदमको सवत्र चर्चा समेत भैरहेको छ । यो समाचार पढेपछि आफ्नो देशमा पनि यस्तै कहिले होला भन्दै सामाजिक संजालमा लेख्ने विदेशीहरु पनि रहेका छन् ।
समयको पालनामा विश्वभर उदाहरण बनेका जापानका कतिपय कम्पनीहरुले चुरोट नपिउने कर्मचारीलाई बर्षमा अतिरिक्त ६ दिन छुट्टी समेत दिन्छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।