रोशन पराजुली, हेटौंडा ।
नेपाली कांग्रेसको हालै सम्पन्न जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको छ । भेलामा जिल्ला सभापतिहरुले हिन्दुराष्ट्रको एजेण्डालाई महासमिति बैठकबाट पारित गराएर पार्टीको एजेण्डा बनाउनुपर्ने माग गरेका छन् ।
डडेल्धुराका सभापति कर्ण मल्लले उक्त मुद्धा उठाएपछि पर्साका अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङका कीर्ति खड्का, पर्वतका खिमप्रसाद भुसालले पनि पार्टीले हिन्दुराष्ट्रको मुद्धा लिएर जानुपर्ने बताउनुभएको थियो । काग्रेस भित्र हिन्दुराष्ट्रको पक्षमा धेरै प्रभावशाली शीर्षसमेत खुलेर लागेका छन् ।
स्व. खुमबहादुर खड्काले त हिन्दुराष्ट्रको मुद्धा अभियानकै रुपमा सञ्चालन गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेस हिन्दुराष्ट्र महाअभियानका रुपमा कार्यालय नै स्थापना गरी निरन्तर संघर्षका लागि समिति नै निर्माण गरेर लागिपर्नु भएको थियो । खुमबहादुरले उठाउँदै आएको हिन्दुराष्ट्रको मुद्धा हेटौंडामा चर्किएपछि कांग्रेसभित्र बहस शुरु भएको छ । पार्टीको केन्द्रीय समितिमा समेत शंकर भण्डारी लगाएत दर्जनभन्दा बढी केन्द्रीय सदस्य हिन्दुराष्ट्रका लागि निरन्तर लागिपर्दै आएका छन् ।
काग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको कार्यसमिति बैठकले पारित गरेर ल्याएको हिन्दुराष्ट्रको मुद्धा जिल्ला सभापति मल्लले बैठकमा राख्नुभएको थियो । उहाँले अन्य सभापतिलाई पनि उक्त एजेण्डाको पक्षमा उभिन आग्रह गर्नुभएको थियो । आगामी दिनमा हिन्दुराष्ट्रको स्थापना पार्टीको एजेन्डा र प्राथमिकता हुनुपर्ने जिल्ला सभापतिहरुको तर्क छ । धर्म परिवर्तन हाल डरलाग्दो रोगका रुपमा देखा परेको भन्दै उहाँहरुले आगामी दिनमा हिन्दुत्व प्रवद्र्धनलाई तीव्रता प्रदान गर्नु जरुरी रहेको बताउनुभएको थियो ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनाबी घोषणापत्र सार्वजनिक गरेको थियो । राप्रपाले घोषणापत्रमै नेपालको भूराजनीतिक अवस्था एवम् धार्मिक, सामाजिक, साँस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनाबी राजनीतिभन्दा माथि रहेर नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने अडान दोहो¥याए पनि कांग्रेस आधिकारिकरुपमा मौन थियो । हेटौंडा भेलामा त्यो मौनता तोडिएको छ ।
सुन्दर, सबल, समतामूलक एवम् समृद्ध राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिका निमित्त हिन्दुराष्ट्र प्रणालीलाई आत्मसात् गर्नुपर्ने जिल्ला सभापतिहरुको तर्क छ । सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाली पहिचानका रुपमा हिन्दुराष्ट्र पुनस्र्थापना गरिनुपर्ने आवाज उठेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको हिन्दु राष्ट्रको वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताएको बेला चुनाबमा साथ दिएको कांग्रेसमा पनि हिन्दुराष्ट्रको मुद्धा पेचिलो बन्ने संकेत देखिएको छ । थापाले पार्टीले अवलम्बन गरेको हिन्दुराष्ट्रको एजेण्डालाई स्थापित गर्न आग्रह गर्दै मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र भएको विचार व्यक्त गर्दै आउनु भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।