यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ को शंकरनगरमा संचालित एडभान्स कलेजमा अध्ययनरत एक छात्राले आत्महत्याको प्रयास गर्दा पनि कलेज प्रशासन गम्भिर हुन नसकेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।
नर्सिङ्गको पढाई हुने सो कलेजमा शुक्रबार साँझ प्रथम बर्षमा अध्ययनरत एक छात्राले हेष्टल वार्डेन निर्मला घिमिरेसंगको विवादपछि आत्महत्या गर्ने प्रयास गरेको कलेजमा अध्ययनरत विद्यार्थीहरुले बताए ।
विद्यार्थीका अनुसार दुई हप्ता अघि बुटवल पुलचोकमा रहेको कलेजको होष्टलमा बस्ने विद्यार्थीहरुका लागि प्रत्येक शुक्रवार साँझ ८ बजेदेखि शनिबार विहान ५ बजेसम्म मात्र मोवाईल प्रयोग गर्न दिने नियम होष्टलले बनाएको छ ।
सोही नियमको पालना गर्दै हरेक शुक्रबार जस्तै विद्यार्थीहरुले मोवाईल प्रयोग गर्न र होष्टल बाहिर जान माग गरेकोमा होष्टल वार्डेन निर्मलाले मोवाईल प्रयोग गर्न र बाहिर जान रोकेपछि विद्यार्थी र वार्डेन बिच विवाद भएको थियो ।
विवादकै बिच मोवाईल प्रयोग गर्न र बाहिर जान वार्डेनले कडाई गरेपछि होष्टलमा बस्दै आएकी कलेजकी एक छात्राले होष्टलको वाथरुम भित्र गई चक्कुले हात चिरेर आत्महत्याको प्रयाश गरेको विद्यार्थीहरुको भनाई छ । सो घटना लगत्तै होष्टलमा बस्ने विद्यार्थी र वार्डेनले वाथरुमको ढोक फोडेर ति छात्रालाई बाहिर निकाली उपचारका लागि अस्पताल पु¥याएका कारण उनको ज्यान जोगिएको थियो ।
सो घटनापछि आन्दोलित विद्यार्थीहरुले होष्टलमा त्यत्रो घटना हुँदा समेत वार्डेन र कलेज प्रशासन गम्भिर नबनेको र उल्टै विद्यार्थीहरुलाई धम्क्याउने र दवावमा पार्ने काम गरेको आरोप लगाएका छन् । उनीहरु होष्टल वार्डेनको राजिनामा माग, नियम अनुसार मोवाईल प्रयोग र वाहिर जान पाउनु पर्ने माग राख्दै आन्दोलित भएपछि सोमवार देखि कलेजको पठन पाठन समेत अवरुद्ध भएको छ ।
यस विषयमा कलेजका प्रवन्ध निर्देशक चेतनारायण भण्डारी संग वुझ्दा होष्टलमा घटना भएको स्वीकार्दै विद्यार्थीहरुले लिखित रुपमा कुनै माग प्रस्तुत नगरेकोले विद्यार्थीहरुसंग छलफल हुन नसकेको वताउनु भयो । उहांले विद्यार्थीहरुलाई वार्तामा वोलाइएको र वार्तावाट समस्याको समाधान गर्ने पक्षमा कलेज प्रशासन रहेको वताउनु भयो । यदि विद्यार्थीहरु वार्तामा पनि नआउने र कलेजमा पनि नआएको खण्डमा केही दिन कलेज वन्दको सूचना जारी गरी समस्या समाधानको उपाय खोजिने भण्डारीले वताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।