नेपाल समाचारपत्र, काठमाडौं । प्रसिद्ध कवि एवं गीतकार बसन्त चौधरीको नयाँ काव्य कृति ‘चाहतो के साये मे’ मुम्बईमा लोकार्पण गरिएको छ । बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले एक सांगीतिक कार्यक्रमकाबीच पुस्तकको लोकार्पण गरेका थिए ।
चौधरीको यो पाँचौ कविता संग्रहो जसमा अत्यन्तै सुरुचीपूर्ण तवरले प्रेमका विविध आयामहरुलाई सरलतापूर्वक बुझाउने प्रयत्न गरिएको छ । ‘चाहतो के साये मे’मा प्रेममा आधारित भएर हिन्दी तथा उर्दु मिश्रित भाषामा लेखिएका सयौं कविता, नज्म तथा गजलहरुलाई समेटिएको छ । पुस्तकलाई सुन्जोय शेखरले अंग्रेजीमा समेत अनुवाद गरेका छन् ।
पुस्तक लोकार्पण कार्यक्रमको सुरुवात ‘प्रेमका विविध अयाम’ विषयक अन्तक्र्रियाबाट गरिएको थियो । हिन्दी कविताका प्रर्खर व्यक्ति हसन कमाल र समीरको उपस्थितिले कार्यक्रमको रौनकता बढाएको थियो । गायक सोनु निगमले शीर्ष कवितालाई सांगीतिक धुनमा सजाउँदा उपस्थित दर्शक मन्त्रमुग्ध बनेका थिए ।
टाइम्स म्युजिकले प्रकाशन गरेको ‘चाहतो के साये मे’बोलको शीर्षगीतलाई बलिउडका चर्चित संगीतकार रिन्को सुशान्त–शंकरले कम्पोज गरेका हुन् । उक्त गीतको म्युजिक भिडियोलाई प्रथमेश पाटिलले निर्देशन गरेका छन् । जसमा विश्वास किनी र सुलेनको अभिनय रहेको छ ।
“चाहतो के साये मे प्रेमलाई अत्यन्तै सुक्ष्म दृष्टिकोणबाट बुझ्ने मेरो एउटा यात्रा हो । मेरो यो यात्रामा धेरै व्यक्तित्वहरुको साथ रहेको छ जसमध्ये केही विशेष व्यक्तित्वहरु आज यहाँ उपस्थित हुनुहुन्छ”, कार्यक्रममा कवि चौधरीले भन्नुभयो– “मधुर स्वरका धनी सोनु निगमले मलाई मोहमद रफीको त्यो सुनौलो सांगीतिक युगको सम्झना गराउनुभयो र उहाँको स्वरमा पुस्तकको शीर्ष गीत सुन्न पाउँदा हर्षित भएको छु ।”
गायक सोनुले भने, “धेरै लामो समय पछि मैले अत्यन्तै सुन्दर रचना गाउने अवसर पाएँ । पहिलो पटक सुन्ने वित्तिकै यसले मेरो मन छोयो । नेपालका लोकप्रिय कवि, लेखक एवं समाजसेवी बसन्त चौधरीले अत्यन्तै मन छुने गीत लेख्नुभएको छ, त्यसमा संगीत पनि उत्तिकै राम्रो छ र छायाकंन पनि अत्यन्तै सुन्दर तवरले गरिएको सोनुले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।