गजनी अफगानिस्तान
अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन् ।
स्थानीय अधिकारीले बुधबार दिएको जानकारीअनुसार पहिलो घटनामा नवा जिल्लाको मिर्जा कार्ली गाउँमा भएको हो ।
सो गाउँमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई लक्ष्य गरी अफगान सेनाको हेलिकोप्टरबाट कारबाही गरिएको थियो ।
कारबाहीमा परी सात आतङ्ककारी मारिनुका साथै अन्य तीन घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता मोहमद अरिफ नुरीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
सेनाको हेलिकोप्टरले लक्ष्य गरिएका ती आतङ्ककारीहरु केही भने एक भवनमा गजनी प्रान्तका सुरक्षा अधिकारीहरुलाई लक्ष्य गरी कारबम बनाउनमा व्यस्त रहेका थिए ।
त्यसैगरी दोस्रो घटना गजनी प्रान्तको बाहिरी इला शाहबाज क्षेत्रमा भएको छ । सो क्षेत्रमा बारुदी सुरुङ्ग बनाउन व्यस्त रहेका तालिबान आतङ्ककारीहरुलाई लक्ष्य गर्दै सेनाले गोली प्रहार गरेको थियो ।
सो घटनामा छ जना तालिबान आतङ्ककारी मारिएका छन् । मङ्गलबार सुरक्षा अधिकारी र तालिबान आतङ्ककारीबीच जारी रहेको झडपमा तीन सुरक्षा अधिकारी घाइते भएका थिए ।
अफगानिस्तानको राजधानी काबुलबाट १२५ किलोमिटर दक्षिणमा रहेको स्थानमा गत दुई हप्ता यता सुरक्षा अधिकारी र तालिबान आतङ्ककारीबीच झडप जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।