भगवती तिमल्सिना, काभ्रे ।
अमेरिकाको ड्यालसमा स्थापना भएको कमला शाक्य फाउण्डेसनले काठमाडौ विश्वविद्यालय धुलिखेल अस्पताललाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्नका लागि नभै नहुने यन्त्र “कल्कोसकोप” एक कार्यक्रमका बीच हस्तान्तरण गरियो । उपकरणको कमलाका ससुरा पुष्पराज शाक्य र छोरा छोरीले उद्घाटन गरेका थिए भने श्रीमान स्वयम्भुले हस्तान्तरण गर्नुभएको थियो ।
कमला शाक्य र स्वयम्भूराज शाक्य झण्डै २२ बर्ष अघि उच्च शिक्षा हासिल गर्नुका साथै शिप सिकी आफ्नै जन्मभूमि नेपाल फर्किएर चिकित्सा सेवा र विज्ञान प्रविधिको उपयोगी सेवा प्रदान गर्ने अठोट लिएर सुविधा सम्पन्न मुलुक अमेरिका पुगेको थियो ।
स्वयम्भुराज भन्नुहुन्छ–“सन् २०१८ मा नेपाल फर्किएर नेपालमै सेवा गर्ने निधो गरिसकेका थियौ एक बर्ष अघि कमलाको पाठेघरको मुखको क्यान्सरका कारण योजना चकनाचुर भयो ।” श्रीमती कमला र म उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थियौ । उनको र मेरो त्यही भेट भयो विवाह गर्यौ एक छोरा श्रयस शाक्यको १४ बर्ष अघि र छोरी बोधिका शाक्यको ८ बर्ष अघि जन्म भयो । कमला नर्स भएका कारण उनको रुची बिरामीको सेवा गर्नेमै केन्द्रीत हुन्थ्यो ।
उनको इच्छा र चाहना नेपालमै आएर गरिब दुःखीलाई स्वास्थ्य सेवा प्रदान गर्ने थियो । म पनि कम्प्युटर साइन्स पढेर काम गर्दै आएकाले नेपालमा नै आई सेवा गर्ने तिब्र चाहना बोकेर योजना बानाएका थियौ । छोरा, छोरीलाई काठमाडौं विश्वविद्यालय अन्र्तगत शिक्षा दिएर आफ्नै जन्मभूमि धुलिखेल फर्कने निधो गरिसकेका थियौ । अब कमला नहुँदाको यो योजना चकनाचुर भयो ।
आफु सानै हुँदा धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा.डा.रामकण्ठ माकजू बिदेशबाट नेपालमै सेवा गर्ने अठोटका साथ घर फर्कदा उहाँको कपडा पसलमा धेरै मानिसको भिड लागेको थियो । के को भिड भनेर हेर्दा डा.रामलाई देखे र सानै उमेरमै विदेश गएर फर्किएपछि सम्मान पाईने रहेछ भन्ने पर्न थाल्यो । त्यतिबेला देखिनै बिदेश जाने तिब्र चाहना अनुरुप उच्च शिक्षाका लागि अमेरिका पुगे । उच्च शिक्षा, व्यवहारिक पक्षलाई सम्हाल्दै यसै बर्ष देखि नेपाल फर्किएर जन्म भूमिको सेवा गर्ने योजना बनाएका थियौ । तर आज कमला साथमा छैनन र उनी बिना यो योजना पुरा गर्ने सम्भावना देख्दिन्न स्वयम्भु भन्नुहुन्छ ।
अमेरिकाको टेक्सास राज्यको मेडिकल सिटी ड्यालसमा एक बर्ष देखि कमलाको क्यान्सरको उपचार भैरहेको थियो । उनी आफै नर्स भएका कारण उपचारमा कुनै समस्या थिएन् । उनलाई उपचारपछि नेपाल आएर क्यान्सरका बिरामीलाई जनचेतना जगाउने र सहयोग गर्ने ठूलो धोको थियो । तर उनी निको भएर नेपाल सँगै आउँने चाहना पुरा हुन सकेन ।
पहिलो पटक एक महिना रेडियसन सेवा दिईयो । दोस्रो चरणमा पेटस्क्यान गरेर हेर्दा उनको क्यान्सरको ट्यूमर बढेको पाईयो । त्यसपछि सन् २०१७ नोभेम्बरमा किमो थेरापी शुरु गरियो । त्यसले पनि उनलाई झन गाह्रो भयो र औषधिले पनि काम गरेन । त्यतिकैमा उनको शरिरमा रोगसँग लड्ने क्षमताको कमी हुँदै गयो र मुटुदेखि पाठेघर सम्म जोडिएको नसा नै छिनेर रक्तश्राव भएको भयै भयो । चिकित्सकहरुले बाध्य भएर शल्यक्रिया अपनाए । रक्तश्राव त रोकियो तर किमो चलाउन मिलेन र उनको शरिरमा क्यान्सरको सेलले जरा गाड्यो उनलाई लामो समय बचाउन सकिन्न भनेर उपचारमा सम्लग्न चिकित्सकले भनिरहँदा पनि ममा आशा मरेको थिएन ।
कमलाले अस्पतालको बेडमा दिक्क मान्दा पनि अब तिमीलाई निको भएपछि नेपाल गएर गाउँ गाउँमा जनचेतना जगाउने काममा लाग्नुपर्छ भन्दै सम्झाउथे र उनमा आशा जगाउने काम गर्थे । नेपाल आउँने र सेवा गर्ने कुरामा उनी अत्यन्तै खुशी हुन्थीन् । कमलाको चाहनाकै लागि आज म बच्चाहरुलाई समेत लिएर नेपाल आएको छु र सयौ कमलालाई समयमै पाठेघरको मुखको क्यान्सर पहिचान गरि बचाउन मदत मिलोस् भनेर कल्कोसकोप नामक पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने मेशिन ल्याएर धुलिखेल अस्पताललाई हस्तान्तरण गरको छु । आगामी दिनमा पनि अमेरिका मै स्थापना गरेको कमला फाउण्डेसनबाट नेपालमा रहेका क्यान्सरका बिरामीका लागि सहयोग गर्दै जाने योजना बनाएका छौ ।
काठमाडौं विश्व विद्यालय मेडिकल साइन्सका डिन प्रा.डा.राजेन्द्र कोजूले स्वयम्भूले श्रीमतीको चाहना पुरा गर्न फाउण्डेसन खोलेर त्यसै मार्फत गरेको सहयोगको सही रुपमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउण्डेसनका अध्यक्ष सुरज पौडेलले कमलाको योगदानको मुक्तकण्ठले प्रशसा गर्नुभएको थियो ।
त्यसैगरी गाइनोकोलोजिष्ट डा.सुनिला शाक्यले कमलाको अठोट पुरा गर्ने बताउँदै भन्नुभयो–एचपिडी भाइरसका कारण सर्भाइकल क्यान्सर हुन्छ । यो भाईरस खतरनाक हुने र शरिरमा प्रवेश गरेपछि बाहिर ननिस्कने भएकाले यसलाई शरिरमै प्रवेश हुन नदिनका लागि ९ बर्षको उमेर समूह देखि महिला पुरुष दुबैलाई खोप लगाउनुपर्छ । यो खोप महगो र नेपालमा शुरु भैनसकेको अवस्थाको समेत जानकारी गराउनुभयो ।
यो भाइरस यौनसम्पर्क गर्दा प्रवेश गर्ने र ७० प्रतिशत मानिसमा रोगसँग लड्ने क्षमताका कारण नफैलिए पनि ३० प्रतिशतमा भने फैलने गरेको विश्वको तथ्यांकमा देखा परेको छ । यो रोगको पहिलो चरणमा पहिचान भएमा रोकथाम गर्न सकिन्छ । एउटा खोपको अनुमानित एकसय अमेरिकी डलर पर्ने र ३ पटक लगाउनुपर्छ डा.शाक्यले भन्नुभयो । रोगको पहिचानका लागि ३ बर्षमा एक पटक स्क्रीनीङ गर्नु उपयोगी हुने बताउँनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।