मानिस जहाँ र जहिले पनि बेहोस हुनसक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो अवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नजिकै भएको मानिसको ठूलो भूमिका हुन्छ । उसैको हातमा हुन्छ–कसैको अमूल्य जीवन बचाउने वा नबचाउने निर्णय ।
बेहोस हुँदा के गर्ने ?
बेहोस भएका मानिसलाई रिकभरी पोजिसनमा राख्न जरुरी हुन्छ । जसका लागि पहिला बेहोस भएको मानिसलाई देब्रे कोल्टो पारेर सुटाउनुपर्छ । र, देब्रे खुट्टालाई सीधा पारी दाहिनेलाई खुम्च्याइदिनुपर्छ ।
त्यस्तै, देब्रे हातलाई खुम्च्याउनुपर्छ र दाहिनेलाई चिउँडोको तल राख्नुपर्छ । यदि छारे रोगजस्तो समस्याका कारण बेहोस भएको अवस्थामा जिब्रो काटिएर फोक्सोमा रगत पुगी मानिसको मृत्युसमेत हुन सक्ने भएकाले यस्तो गर्नुपर्छ ।
रिकभरी पोजिसनमा नराखेको खण्डमा श्वास रोकिएर मानिसको मृत्यु हुनसक्ने सम्भावना हुन्छ । बेहोस भएको खण्डमा कहिल्यै पनि नाक थुन्ने, पानी खुवाउन खोज्नेलगायतको गतिविधि गर्नु हुँदैन ।
धेरै मानिस ब्लडप्रेसर न्यून भएर बेहोस हुने गर्छन् । यस्तो अवस्थामा नाडी कमजोर हुने, बिरामीको अनुहारको रङ उड्दै जानेलगायतका समस्या हुन सक्छ । पहिला मानिसको खुट्टा उचालिदिनुपर्छ र सिरानी झिकिदिनुपर्छ । ताकि खुट्टातिरबाट रगत मस्तिष्कमा पुगोस् ।
यस्तो अवस्थामा मानिसलाई बसाउने, केही कुरा खुवाउन खोज्ने, दाँत उप्काउनेलगायतका गल्ती गर्नु हुँदैन । र, रोगी होसमा आउनेबित्तिकै नुनिलो र झोलिलो खानेकुरा खुवाउनुपर्छ ।
सिपिआर गर्नुस्ः
कार्डियो अरेस्टका कारण बेहोश भई विश्वमा धेरै मानिसको मृत्यु हुने गरेको छ । यसरी बेहोस भएका मानिसलाई लाइभ सपोर्ट नगरेको अवस्थामा तत्काल मृत्यु हुन सक्छ । त्यसैले सिपिआरबारे जान्न जरुरी हुन्छ ।
सिपिआर गर्दा पहिला बिरामीलाई भुइँमा सुताउनुपर्छ । र, एउटा हातमाथि अर्को हात राखी औँला छिराएर हत्केलाले छातीको बीच भागमा थिच्नुपर्छ । प्रतिमिनेट सयदेखि एक सय २० पटक दुई इन्च तलसम्म थिच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा श्वासप्रश्वासबारे पनि विचार गर्नुपर्छ ।
त्यसपश्चात् एक सेकेन्डभित्रै नाक बन्द गरेर मुखबाट कृत्रिम श्वास दिनुपर्छ । यस्तो श्वास दिँदा छाती माथि उठेको देखिनुपर्छ । यसो गर्याे भने मानिसको बाँच्ने सम्भावना बढेर जान्छ ।
मानिस कसरी वा किन बेहोस भएको हो भन्ने कुराको पनि जानकारी पाउन जरुरी हुन्छ । आँखाको अस्वाभाविक चाल, हातखुट्टा चलिरहेको छ र रक्तसञ्चार पनि छ भने छारेरोगको कारणले बेहोस भएको बुझ्नुपर्छ ।
यस्तो अवस्थामा बिरामीलाई सुरक्षित ठाउँमा लैजाने, घाँटीमा केही बेरिएको भए निकालिदिने गर्नुपर्छ । मानिसको बेहोसीको कारण थाहा पाउन एबिसीबारे जान्नुपर्छ ।
श्वासमार्ग आर्थात् घाँटीमा अवरोध भएरनभएको, ब्लिडिङ र ब्लड सर्कुलेसन र सिम्पल फेन्टिङ एट्याक अर्थात् सामान्य तरिकाले बेहोस भएको अवस्थामा फ्यान चलाइदिने, पानीले अनुहार पुछिदिनेलगायतका गतिविधि गर्नुपर्छ । हृदयाघातका कारण भएको हो भने सिपिआर गर्नुपर्ने हुन्छ ।