नेपाल समाचारपत्र, काठमाडौं ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल तथा चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीले बुधबार सरकारलाई अल्टिमेटम दिँदै विज्ञप्ति जारी गरि सम्झौता अनुरुप चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी नगरे अनसन बस्ने उद्घोष गर्नुभएको थियो । डा.केसी विहिवार जुम्लाका लागि काठमाडौबाट नेपालगञ्ज पुग्नुभएको छ ।
विगतमा १४ पटक सम्म काठमाडौको त्रिवि शिक्षण अस्पताल परिसरमा आमरण अनसन बस्दै आउँनुभएका डा.केसी १५ औं अनसन जुम्लाको सदरमुकाममा बस्ने अठोटका साथ हिडेको बताउँनुहुन्छ । डा.केसी भन्नुहुन्छ–सरकार जनताप्रति जिम्मेवार नहुँदा मेडिकल शिक्षा व्यापार गर्दैछ ।
चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा आउनुपर्ने माग राख्दै आफुले १५ औं पटकको अनसन बस्न बाध्य भएको डा. केसीले नेपाल समाचारपत्रलाई बताउनुभयो । विहिवार नेपालगंज पुग्नुभएका डा.केसी शुक्रवार विहानै जुम्लाका लागि गाडिमा जाने तयारीमा रहेको जानकारी गराउनुभयो । यस पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकामलाई रोजेको समेत उहाँले जानकारी गराउनुभयो ।
पटक पटक आमरण अनसन बस्दै सरकारले सम्झौता गरेका बिषय कार्यान्वयन गर्नुको सट्टा नाफामुखी व्यापारका रुपमा चिकित्सा शिक्षालाई अगाल्दै आएका कारण आम जनताको पक्षमा हुने चिकित्सा शिक्षाको माग गर्दे आफु पुनः आमरण अनसन बस्न बाध्य भएको डा.केसी बताउनुहुन्छ ।
अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्नेगरी तोडमोड गर्न लागिएको भन्दै केसीले विरोधस्वरुप अनसनको घोषणा गरेको बताउनुभयो ।
सरकारले गरेको सम्झौता पुरा नभए शुक्रवारदेखि डा.केसी सत्याग्रहमा उत्रने
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसमध्ये पनि मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा अहिले भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि हामीले चलाएको वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो ।
तर विडम्बना अहिले सो अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना हामीलाई प्राप्त भएको छ । त्यस्तो कदम हामीलाई स्वीकार्य छैन ।
त्यसैले निःशुल्क पीजीपछिको सेवा अवधि हामीसँग समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुको गर्दर्छौं । त्यसो नगरिएको खण्डमा यही असार १५ गतेदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं ।
हामीसित बारम्बार सम्झौता भए बमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने खालको छ किनभने प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ ।
फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन सकेको छैन भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त छ । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने काम हुन सकेको छैन ।
त्यसैले यो सम्वेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने पनि जानकारी गराउँछौं डा.केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।