नेपाल समाचारपत्र, काठमाडौं
२ महिनाको अवधिमा ५४ वटा अवैध हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार पत्रकार सम्मेलन गरी अपराधलाई निरुत्साहित गर्न विभिन्न प्रकृतिका ५४ वटा हातहतियार बरामद गरेको जानकारी दिनुभएको हो।
प्रहरीका अनुसार पेस्तोल ५ थान, कटुवा १२ थान, भरुवा ३५ थान र बन्दुक २ थान बरामद गरिएको छ। यस्तै नेपालको अनुरोधमा नोटिस जारी गरी इन्टरपोल टुल्समार्फत् १ सय १७ जना नेपाली र ४ जना विदेशी नागरिक पक्राउ गरिएको छ। लागूऔषध कारोबारमा संलग्न ९ सय ६४ जनालाई पक्रिएको प्रहरीद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ, जसमा ९ सय २६ जना पुरुष र ३८ जना महिला छन्।
सो अवसरमा नेपाल प्रहरीका महानिरीक्षक खनालले २ महिनाको अवधिमा २ हजार ५ सय १९ जना प्रहरी अधिकारीलाई बढुवा गरेको र ९ हजार ७ सय ४३ जना प्रहरीको सरुवा र पदस्थापन गरेको बताउनुभयो।
फरक प्रसंगमा प्रहरी महानिरीक्षक खनालले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरीको विषय आफ्नो क्षेत्राधिकार बाहिरको भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अनुसन्धानको विषयमा चासो त छ तर सरकारले गठन गरेको कमिटीले सुनकान्डको विषय हेरिरहेको छ। यसलाई अनुसन्धान गर अथवा नगर भन्ने अधिकार मसँग छैन।’
आफ्ना कामलाई ३ तहमा विभाजन गरेको जानकारी दिँदै उहाँले शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। प्रहरी संगठनलाई संघीयताअनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रममा प्राथमिकता दिइने महानिरीक्षक खनालले जानकारी दिनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।