काठमाडाैँ । दुई दिनदेखि लगातार परेको वर्षाले तराईको जनजीवन प्रभावित भएको छ । सिराहा, चितवन, बाँके लगाएतका अधिकांश जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र अन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायतका स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।
यता चितवनको माडीस्थित रिउ खोलाको पानी खतराको सतह भन्दा नाघेको छ । पानीको बहाब बढेकाले माडीको रौतनी खोलाको पुल भासिएको छ । माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । राप्ती नदीमा पनि पानीको बहाब बढ्दो क्रममा रहेकोले सचेत रहन आग्रह गरिएको छ । बर्षाका कारण माडी–ठोरी सडक खण्ड पनि अवरुद्ध बनेको छ ।
सिरहाको मुख्य बजार लहान, सिरहा, मिर्चैयालगायतका ठाउँहरुमा सडक जलमग्न भएका छन् । मिर्चैयाको मुख्य बजार क्षेत्र थाना चोक, बजार क्षेत्र र कटारी चोक लगायतका स्थानहरुमा पानी जमेकाले त्यहाँको जनजीवन प्रभाबित भएको छ ।
बिरगञ्ज महानगरपलिको मुख्य व्यापारी चोक आर्दनगरको बिभिन्न क्षेत्र जलमग्न भएको छ । जिल्ला प्रसाशन कार्यलय सहित २० भन्दा बढी पसलमा पानी पसेको छ । मुर्ली, ईनर्वा, गहवा, रानीघाट लगाएतका क्षेत्र पनि डुवानमा परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।