भरत केसी, बुटवल।
लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् ।
वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् । डुबानमा नगर उपप्रमुख उमा काफ्लेको घरसमेत परेको छ ।
लगातारको वर्षा र नेपाल–भारत सीमा क्षेत्र फरेनामा भारतीय पक्षले निर्माण गरेको बाँध समयमा नखोलिदिँदा भैरहवा जलमग्न हुन पुगेको हो । अहिले नेपाली पक्षले धेरै प्रयास गरेपछि बाँध खुलेको छ । त्यसपछि डुबान भएको पानी विस्तारै घट्दै गएको छ ।
सिनपामा केही वर्षदेखि अर्बौ रकम खर्चेर एसियाली विकास बैंक ९एडिबी०ले ढल निकास र नाला बनाएको भएता पनि त्यसको वैज्ञानिकता नहुँदा समस्या निम्तिएको बताइएको छ ।
नगरमा धेरै निर्माणका कार्य भइरहेकाले केही क्षेत्र जलमग्न भएको प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । उहाँले प्राकृतिक समस्याको प्राविधिक निकास खोज्दै डुबान समस्याको समाधान खोजिने बताउनुभयो ।
वस्तीहरु डुबानको जोखिममा पर्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार कार्यलाई पूर्वतयारी अवस्थामा राखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्लाका दक्षिणी क्षेत्र डुबानबाट प्रभावित हुन सक्ने खतरा रहेको बताउनुभयो । बाढी प्रभावित भएकाहरुका लागि तत्कालै उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय तहका जनप्रतिनिधिलाई तयारी अवस्थामा राखिएको समेत प्रजिअ रानाले बताउनुभयो ।
आइतबार साँझदेखि परेको लगातारको वर्षाले दक्षिणी क्षेत्रका कतिपय स्थानमा सामान्य डुबानको समस्या देखिन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेकाले स्थानीय बासिन्दा त्रसित भए पनि डुबानका कारण समस्या भने अझै नदेखिएको प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देहीका विभिन्न क्षेत्र हुँदै बग्ने तिनाउ, दानव र रोहिणी खोलामा आएको बाढीले जिल्लाका दक्षिणी क्षेत्र डुबानको बढी जोखिममा रहेका छन् । जिल्लाका मर्चवार र धकधहीलगायत ग्रामीण वस्तीमा डुबानको जोखिम रहेकाले उद्धारका सबै संयन्त्र सतर्कताको स्थितिमा राखिएको प्रशासनले जनाएको छ ।
भैरहवा विमानस्थलमा सेवा अवरुद्ध गए रातिदेखिको वर्षाका कारण भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट हुने सबै उडान÷अवतरण आज अवरुद्ध भएका छन् । मौसमका कारण विमानस्थलमा उडान र अवतरणका लागि आवश्यक ‘भिजिविलिटी’ नभएकाले आज मध्याह्नसम्म कुनै पनि उडान हुन सकेन ।
बिहानका चार वटा उडान रद्द भएको विमानस्थलका वरिष्ठ अधिकृत प्रदीप अर्यालले जानकारी दिनुभयो । मौसममा सुधार नआए अन्य उडान पनि सम्भव नभएको उहाँले जानकारी दिनुभयो ।
व्यवस्थित ढल निकास नहुँदा बुटवलका विभिन्न क्षेत्र पनि जलमग्न भएको छ । यसले गर्दा मुख्य राजमार्ग र नगरभित्रका मुख्य सडकखण्डमा आवतजावतमा समस्या उत्पन्न भएको बुटवल उपमहानगरपालिका ११ नं वडाका वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा गएराति पहिरो खस्दा अवरुद्ध बनेको बुटवल–तानसेन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आइतबार राति करिब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहान डोजर लगाएर पहिरो हटाइएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।