चितवन । निरन्तरको वर्षाले चितवनका राप्ती, नारायणी, रीउलगायतका नदीमा पानीको वहाव बढेँसँगै वाढीको खतरा देखिए पनि विपद् व्यवस्थापनको तयारी भने जिल्लामा कमजोर देखिएको छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरपालिकाको विपद् व्यवस्थापनको साधनस्रोत निकै कम भएकोले बाढी नआइदिओस् भनेर भगवान भरोसामा रहेको बताए । रत्ननगर नगरपालिकामा विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ, केही लाइफ ज्याकेट रहेको उनले बताए । उनले नगरपालिकाका सबै वाडका जनप्रतिनिधिलाई विपद् व्यवस्थापनको लागि सजग रहन अनुरोध गरिएको जानकारी दिए ।
त्यस्तै, भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरमा विपद् व्यवस्थापन समिति भने बनेको तर समितिमा को को छन् र विपद् व्यवस्थापनको तयारीबारे केही जानकारी नभएको बताइन् ।
महानगरका वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठ र वडा नम्बर २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले विपद् व्यवस्थापन समिति बनेको तर सम्पूर्ण तयारीको बारेमा जानकारी नभएको बताए ।
राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले नगरपालिकामा भएको साधनस्रोत विपद् व्यवस्थापनको लागि पर्याप्त नभएको बताइन् । विपद् व्यवस्थापनको लागि आवश्यक पर्ने सवारी साधनहरु किन्ने तयारीमा रहेको उनले जानकारी दिइन् । मेयर बरालले वाड वाडमा जनप्रतिनिधिहरुलाई र सुरक्षा निकायलाई भने तयारीमा बस्नको लागि आग्रह गरिएको बताइन् ।
त्यस्तै, खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले नगरपालिकामा विपद् व्यवस्थापन समितिमा मात्र गठन भएको तर व्यवस्थापनको लागि आवश्यक सामग्रीहरु नभएको बताइन् । विपद् व्यवस्थापन कोष नगरपालिकामा स्थापना भएको तर के कति बजेट राखिएको छ आफूलाई केही जानकारी नभएको उनले बताइन् ।
माडी नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष ईश्वरीप्रसाद ढकालले नगरपालिकामा विपद् व्यवस्थापन कोषको बजेट पास हुन नै बाँकी रहेको बताए । नगरपालिकामा विपद् व्यवस्थापनको लागि केही रेडक्रसले दिएका पुराना सामग्रीहरु भए पनि सबै अपर्याप्त रहेको उनले बताए ।
त्यसैगरी इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले आज सोमबार विपद् व्यवस्थापनको लागि के के नयाँ सामानहरु किन्ने भने सरोकारवालाहरुको बीचमा बैठक बस्ने तयारी भएको बताए । विपद् व्यवस्थापनका केही पुराना सामग्री वाड वाडमा पठाइएको भए पनि भएका सामग्रीहरु पर्याप्त नभएको उनले बताए । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा के कति रकम छ आफूलाई जानकारी नभएको उनले जनाए ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विपत् व्यस्थापनको पूर्व तयारीका लागी आवश्यक पर्ने सामाग्री खरिदका लागी पत्र काटिसकिएको जानकारी दिए । उनले सुरक्षा निकायबाट हुने तयारी यसअघिनै गरिसकिएको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।