चिरञ्जीवी मास्के
दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाको विगु गाँउपालिका वडा नम्बर ८ खारे स्थित जगतको जंगलमा विश्वमै दुर्लभ ठानिएको राज गोमन (किङ कोब्रा) भेटिएको छ ।
जगतको बन क्षेत्रमा बाख्रा हराएपछि खोजिगर्दै जाँदा स्थानिय संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक यादव प्रसाद आचार्यले ठूलो र अनौठो सर्प देखेका थिए । यादवले ठूलो र अनौठो सर्म बारे गौरीशङ्कर संरक्षण क्षेत्रलाई जानकारी गराएपछि संरक्षण क्षेत्रले त्यसको अध्यन गर्दा उक्त सर्प विश्वकै दुर्लभ ठानिएको राज गोमन (किङ कोब्रा) भएको पुष्टि गरेको आयोजनाका संरक्षण अधिकारी बिष्णुप्रसाद पाण्डेले बताए ।
झण्डै १२ फिट लामो उक्त दुर्लभ राज गोमन समुद्र सतहबाट एक हजार दुई सय ७८ मीटरको उचाईमा पत्करहरुको थुप्रो बनाई फुल पारेर त्यसको पहरा दिईरहेको अवस्थामा भेटिएको संरक्षण अधिकृत पाण्डेले बताए । सामान्यतया तराई र भित्रि मधेशको जंगल, खेत तथा बस्तिहरुमा पाईने राज गोमन दोलखा जिल्लामा पहिलो पटक भेटिएको संरक्षण अधिकृत पाण्डेको भनाई छ ।
राज गोमनको मुख्य आहारा अन्य सर्पहरु, साना स्थनधारी प्राणी र चराचुरुङ्गी हुने गरेको छ । खानाको चरम अभावमा यसले अन्य गोपन सापहरु समेत खाने गरेको संरक्षण अधिकृत पाण्डे बताउछन् । लजालु स्वभावको राज गोमनले सामान्यत मानिसलाई आक्रमण नगर्ने तर यसको गुँडको अत्यधिक नजिक पुगेको अवस्थामा र जम्काभेट भएको खण्डमा भने आक्रमण गर्न सक्ने पाण्डे बताउछन् । राज गोमनले मानिस या ठूला स्तनधारी जनावर नजिक आउदा १/२ फिटसम्म टाउको उठाई फडाँ फिजाएर चेतावनी दिने गर्छ ।
राज गोमन अत्यधिक क्षमताको विष भएको सबै भन्दा ठूलो सर्प मानिन्छ । यसको औषधि समेत विरलै पाईने यसका अध्यताहरुको भनाई छ । मनसुनको समय राज गोमनको प्रजनन् समय हुने अध्यताहरु बताउछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।