विमल विष्ट, डोटी ।
प्रदेश नम्बर ७ मा ७५ प्रतिशत रोपाई सम्पन्न भएको छ । क्षेत्रीय कृषि निर्देशनालय दिपायलले प्रदेश ७ भरी १ लाख ३२ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको जानकारी दिएको छ । सहायक प्राविधिक सुशिलकुमार शर्माले ७ प्रदेशमा १ लाख ७५ हजार ३ सय ९० हेक्टरमा धान खेती हुने गरेकोमा करिव ७५ प्रतिशत जमिनमा रोपाई सम्पन्न भईसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी कञ्चनपुरमा ८० दशमलव ४६ प्रतिशत जमिनमा रोपाई भएको छ भने सवैभन्दा कम डोटीमा ३५ दशमलव १४ प्रतिशत रोपाई सकिएको छ ।
त्यस्तै डडेल्धुरा, अछाम, दार्चुलामा समान ८० प्रतिशत रोपाई सम्पन्न भएको जनाईएको छ । बैतडीमा ७८, बाजुरामा ५६, कैलालीमा ७१ दशमलव ६५ र बझाङमा ६५ प्रतिशत रोपाई सम्पन्न भएको र यो वर्ष चाडै मनसुनी वर्षा सुरुभएपछि सिचाई सुविधा नपुगेका ठाउँको जमिनमा पनि रोपाई गर्न सहज भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । सो कार्यालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने समेत विश्वास गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा सुदूरपश्चिममा २ दशमलव ९६ मेट्रिक टन प्रतिहेक्टर क्षेत्रफलमा धानको उत्पादन भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।