दमक ।
झापाको दमक–३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ ।
जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावर कार्य अगाडि बढ्ने भएको हो ।
वडा कार्यालयले भ्यूटावरका लागि आवश्यक जमीन जुटाएपछि अब दमकमा अत्याधुनिक नमूना भ्यूटावर बन्ने बाटो खुलेको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकासहित भ्यूटावर समितिको एक टोली काठमाडाँै पुगेर भ्यूटावरको जग्गा सरकारलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख रोमनाथ ओली, उपप्रमख गीता अधिकारीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको वडाध्यक्ष बरालले बताउनुभयो ।
त्यसक्रममा जग्गाको पूर्जा ग्रहण गर्नुहुँदै प्रम ओलीले अब भ्यूटावरको कामले गति लिने विश्वास व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । सो भ्यूटावरको गतवर्ष प्रम ओलीले शिलान्यास गर्नुभएको थियो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।