भगवती तिमल्सिना, काठमाडौं
चिकित्सा शिक्षाको विधेयक माथेमा आयोगको सुझावअनुरुप नै पारित गर्न माग राख्दै आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्यमा सुधार आएको छ।
नेपाल चिकित्सक संघ कर्णाली शाखाले डा. केसीको जीवनरक्षाका लागि सरकारसँग सुरक्षित स्थानमा डा. केसीलाई सार्ने व्यवस्थाको माग गर्दै आकस्मिक बाहेकका सेवा मंगलबारदेखि बन्द गरेकामा डा. केसीलाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै सबै चिकित्सक आ–आफ्नो काममा बुधबार रातीबाटै फर्किसकेको समेत डा. प्रविण गिरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
कर्णाली क्षेत्रका स्वास्थ्यकर्मीहरू बुधबारै काममा फर्किसकेको जानकारीसमेत नलिई उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्किन र बिरामीको सेवामा खटिन निर्देशन दिनुभएको छ।
साथै स्वास्थ्यमन्त्री यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिनुभएको उहाँका स्वकीय सचीव महेश चौरासियाले जानकारी गराएका छन्।
सोही अवसरमा स्वास्थ्यमन्त्री यादवले जुम्लामा अनशनरत डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिनुका साथै काठमाडौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली बिहीबार बिहान जुम्लाका लागि हिँडिसकेको मन्त्रीका स्वकीय सचीव चौरासियाले जानकारी गराएका छन्।
डा. थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालबाट थप केही जनशक्ति लिएर बिहीबारै जुम्ला पुग्ने पनि चौरसियाले जानकारी बताउनुभयो।
डा. केसीको मागप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले पनि ऐक्यबद्धता जनाएको छ। ट्रान्सपरेन्सीले स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुशासन र सदाचार प्रवद्र्धनका लागि अनवरत रुपमा संघर्ष गर्दै आएका डा. केसीको माग पूरा गर्न पनि आग्रह गरेको छ।
सरकारले अध्यादेशका महत्वपूर्ण प्रावधान हटाएर प्रतिस्थापन विधेयक ल्याउन खेजेको प्रति पनि ट्रान्सपरेन्सीले आपत्ति जनाएको छ। सरकारले अध्यादेशका महत्वपूर्ण प्रावधानलाई हटाएर प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गराउनु, जीवनरक्षाका लागि संवेदनशील हुनुपर्ने सरकारी संयन्त्र थाहा नपाएझैं गरेर बस्नु, खस्कँदो स्वास्थ्य अवस्था विचार गरी उपचारका लागि गएका चिकित्सक टोलीलाई फिर्ता गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र होइन, विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै नेपाल चिकित्सक संघले पनि बिहीबारै विज्ञप्ति जारी गर्दै विगतमा सरकारसँग भएका सम्झौताअनुसार डा. केसीको माग पूरा गर्दै उहाँको जीवनरक्षाका लागि ध्यान दिनसमेत अपिल गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।