काठमाडौँ ।
कवयत्रि राधिका पन्त देवकोटाको ‘विजय’ (शोककाव्य) र ‘राधा–लेख’ लेख संग्रह सार्वजनिक भएको छ ।
आज यहाँ पुष्पराग साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि डा रामप्रसाद ज्ञवालीले ती दुवै कृति सार्वजनिक गर्नुभयो । डा ज्ञवालीले दुवै कृतिमा कवयित्रीबाट मर्मस्पर्शी भावना अभिव्यक्त भएको बताउनुभयो । दुवै कृति लेखिकाले आफ्नो वास्तविक जीवनकथालाई आधार बनाइ लेख्नुभएको छ ।
“काव्य लेखेपछि मन निकै हलुंगो अनुभव भएको छ”, लेखिका देवकोटाले भन्नुभयो । ‘विजय’ नामक शोककाव्य लेखिकाले आफ्नो भाइ विजयको सगरमाथा आरोहणका क्रममा मृत्यु भएपश्चात् उसलाई गुमाउनुपर्दाको पीडालाई काव्यका रुपमा उतार्नुभएको छ ।
“भाइ पहिले मन मुटुमा बसेको थियो, अहिले किताबभित्र सञ्चित गरेर राखेकी छु”, देवकोटाले थप्नुभयो ।
अर्को कृति ‘राधा–लेख’ मा उहाँले कथात्मक र संस्मरणात्मक शैलीमा आफ्ना अनुभवलाई व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गजलकार रामबहादुर पहाडी, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, समालोचक गीता त्रिपाठी तथा विदुला घिमिरे लगायत साहित्यिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।