काभ्रे, (नेस)
जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकमा भएको अनियमितताका बारेमा महालेखा परिक्षकको कार्यालयले लेखापरिक्षण गरी उजागार गरेको छ । पटक पटक शिक्षा अधिकारी भई काभ्रे आएका डा. दिपेन्द्र गुरुङ्गले विभिन्न शिर्षकमा गरेको अनियमित खर्चको असुल तथा कारवाहीका लागि लेखापरिक्षण प्रतिवेदनले टिप्पणी गरेको छ ।
लेखा परिक्षणमा भनिएको छ– ‘बाल विकास केन्द्र संचालन कार्यकर्ताको रकम बार्षिक ६० हजार दिनु पर्नेमा एक शिक्षक भन्दा धेरै देखाई १७ लाख ७६ हजार निकासा दिई अनियमितता गरिएको छ । लेखा परिक्षणले उक्त रकम तत्काल असुल गर्न निर्देशन दिएको छ ।
जिल्ला भित्रका प्रत्येक सामुदायिक विद्यालयमा कम्तिमा एक प्रारम्भिक बाल शिक्षा कक्षा रहने ब्यवस्थाका लागि मौजुदा प्रारम्भिक बाल शिक्षा कक्षाहरुलाई शिक्षा ऐन नियमावली तथा निर्देशिकामा ब्यवस्था भएको प्रावधान बमोजिम एक विद्यालयका लागि एक शिक्षकको हिसावमा निकासा भुक्तानी गर्नु पर्नेमा एक भन्दा धेरै शिक्षक देखाई तथा निकासा नै बढी दिईएको छ ।’ ६८ वटा विद्यालयका नाममा उक्त रकम भुक्तानी गरिएको छ ।
त्यस्तै जिल्लामा रहेका ४ सय ४४ विद्यालयलाई ८ हजारका दरले विद्यालय तथ्याङ्क बुलेटिन प्रकाशन लगायतका कृयाकलापमा गरिएको भुक्तानीको सामाजिक परीक्षण, आर्थिक लेखापरीक्षण, विद्यालय तथ्याङ्क तथा बुलेटिन प्रकाशन गर्नु पर्नेमा सो अनुसारको कृयाकलाप भएको पुष्टी गराउने अनुगमन प्रतिवेदन तथा प्रमाण पेश भएको छैन ।
सोहि शिर्षकबाट ३ लाख ५२ हजार अनियमित खर्च भएको छ । श्रोत ब्यक्तिको सट्टामा नियुक्ति शिक्षकलाई नपुग भएको तलब ११ लाख २९ हजार ५ सय ५० रुपैया विद्यालय कर्मचारी तथा सहयोगिको ब्यवस्थापनमा स्विकृत बजेटबाट गरेको खर्च अनियमित देखिएको छ । ८५ हजार रकम मसलन्द बापत भुक्तानी दिएको अनियमित छ ।
शिक्षा कार्यालयमा भएका यस्ता अनियति शिर्षकहरु दुई दर्जन भन्दा धेरै छन् । शिक्षा समन्वय ईकाई भई जिल्ला प्रशासन अन्र्तगत रहेपछि कार्यालयले खासै आफ्नो उपस्थिती देखाएको छैन । स्थानीय सरकारलाई शिक्षाका धेरै अधिकार प्राप्त भएका छन् । यस अघि कार्यालयमा भएको अनियमितताका बारेमा भएका लेखाका टिप्पणीहरु समेत कार्यान्वयन भएका छैनन् । शिक्षामा झण्डै चालु वर्षको समेत गरी १५ करोड भन्दा धेरै बेरुजु छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।