चितवन, (नेस)
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दा फैसलाको प्रक्रियामा बाह्य दबाब नरहेको चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले बताएका छन् । मुद्दाको प्रमाण पु¥याउनका लागि समय लागेको भए पनि कुनै पनि खालको बाह्य दबाब नरहेको उनले बताए ।
अदालतले सोमबार चितवनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाइएकोमा उपस्थित नहुँदा समय लिएको बताए । यो घटना २०६१ सालमा भएर २०७० सालमा अदालतमा फाइल भएको भन्दै उनले गम्भीर प्रकृतिको भएको कारणले समय लिएको बताए ।
अदालतले ०७४ फागुन १३ गते जाहेरवाला नुरप्रसादलाई अदालतमा झिकाउन आदेश दिएको थियो । तर, नुरप्रसाद हालसम्म पनि अदालतको सम्पर्कमा छैनन् । नुरप्रसाद अदालतमा नआए पनि अब प्रक्रिया अघि बढ्ने न्यायाधीश शर्माले बताए ।
आउँदो साउन २० गतेका लागि पेसी तोकिएको छ । सोही मितिबाट बहस प्रक्रिया अगाडि बढ्ने उनले बताए । सोही मुद्दाका एक आरोपी छविलाल पौडेलले आइतबार सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।
कृष्णप्रसाद अधिकारीको विसं. २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । एसएलसी परीक्षा दिएर पूर्वीचितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
लामो समयसम्म कारबाही नभएपछि कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजुरीबारे अनुसन्धान सुरु गरेको थियो । उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुसन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन ।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो ।
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्त पनि फरकफरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एकजना अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशअनुसार उनी आइतबार मात्रै सर्वाेच्च अदालत समक्ष हाजिर भएका हुन् । अदालतले हिजो नै उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।
यो मुद्दा हालसम्म पाँच जना न्यायाधीशले हेरिसकेका छन् । मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, ‘भीमसेन’ भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।