रोशन पराजुली, हेटौंडा
हेटौंडा–५, सानोपोखराकी अम्बिका चौलागार्इं अमलेखगञ्जको एक फ्याक्ट्रीमा काम गर्नुहुन्छ । उहाँ स्कुटरमा दैनिक हेटौंडा–अमलेखगञ्ज ओहोरदोहोर गर्नुहुन्छ ।
चुरियामाईको बाटोमा छाडा छाडिएको गाईवस्तुले आफूलाई दैनिकजसो अप्ठ्यारोमा पार्ने गरेको उहाँले बताउनुभयो । सडकमै निर्वाधरुपमा बाख्रा तथा गाईवस्तुहरु हिँड्दा गाडीहरु गाईवस्तुलाई छल्दै आफूतर्फबाट नै आउने गरेको उहाँले गुनासो पोख्नुभयो । ‘ट्रक र ट्रिपरहरु नै बाटोको छेउमा आउने गर्छन्,’ चौलागाईंले भन्नुभयो–स्कुटरमा जोगिएर हिँड्नै गाह्रो ।
सामान बोक्ने गाडीका चालक हेटौंडा–१२, पदमपोखरीका श्याम नेपालको पनि हालत उस्तै छ । नेपाल हेटौंडा–चितवन ओहोरदोहोर गर्नुहुन्छ । नेपालले भन्नुभयो–कहिलेकाहिं खसीबाख्राहरु पत्तै नपाई अगाडि आइपुग्छन् । गाडीको ब्रेक लगाउँदा आफूलाई चोट लाग्ने गरेको नेपालले बताउनुभयो ।
हेटौंडा–१८, हर्नामाडीदेखि दैनिक मोटरसाइकलमा हेटौंडा आउने भोला लामाले चौघडानजिक पुतलीबजार सडकमा सधैंजसो बिस्कुन वा परालको थुप्रोले सडक ढाक्ने गरेको गुनासो गर्नुभयो । आफ्नो फाइदाका लागि बिस्कुन सुकाएर अरुको ज्यान धरापमा पार्ने गरिएको उहाँको गुनासो छ । लामाले भन्नुभयो–मैले दुर्घटना भोगेको छु, चोटपटक त लाग्यो नै मोटरसाइकलमा समेत क्षति भयो ।
दिनप्रतिदिन बढ्दो सवारीको चाप, साँघुरो सडक । त्यसमाथि घरपालुवा जनावर खुलारुपमा सडकमा छोडिँदा र बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम त बढेको छ नै, यात्रुलाई खतरा हुने गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा चरिचरणका लागि खुलारुपमा छाडिने गाई, बाख्रालगायत पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यात्रुलाई चोटपटक लाग्ने गरेको प्रहरीले जनाएको छ ।
खुलारुपमा पशु चौपाया सडकमा छाडिनु कानुनविपरीत भए पनि कानुन कार्यान्वयन अभावमा पशु चौपाया खुलारुपमा सडकमा छाडिने गरिएको छ । सम्बन्धित पक्ष यस विषयमा गम्भीर बन्न सकेका छैनन् ।
मकवानपुरको चुरियामाईदेखि मनहरीसम्म पूर्वपश्चिम सडकमा हरेक दिन पशु चौपाया सडकमै परेड खेल्छन्, सडकमै उग्राउँछन् । अनि, सडकमै सुत्ने गरेका छन् । सडकमा पशु चौपायाका कारण सामान्य गतिमा रहेका सवारीसाधन पनि दुर्घटनामा पर्नसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पोखरेलले बताउनुभयो । पशुधनीले जंगलमा चरिचरणका लागि पशु छाडिदिने र बेवास्ता गर्ने गरेका कारण सडकमा दुर्घटना हुने पोखरेलको भनाइ छ ।
सडकमा पशु चौपायालाई कुनै सवारीले ठक्कर दिए क्षतिपूर्ति तिराउने पशुधनीहरु सडकमा पशु चौपायाका कारण भएको दुर्घटनाबारे बोल्न नचाहने गरेको तीतो सत्य पोख्नुभयो प्रहरी नायब निरीक्षक पोखरेलले ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।