फलेवास, पर्वत, अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ ।
पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो । बिहान १० बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्पm लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए । अहिले वर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि वर्षा हुँदासाथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताउनुभयो ।
वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।