काठमाडौ (नेस) । बिभिन्न माग राखेर १४ दिन देखि अनसन बस्दै आउनु भएका डा. गोविन्द केसीले सरकारले वार्तमा चासो नदेखाएको भन्दै अक्रोश ब्यक्त गर्दै आउनु भएको छ ।
शुक्रवार रगत परिक्षणका लागि गएका चिकित्सकहरुसँग भावुक हुँदै डा.केसीले भन्नुभयो– “ मलाइ मरे मरोस भनेर सरकारले सोचेको रहेछ आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परिक्षण र उपचार गराउदिन, तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे त्यसको लागि तयार छु ।
सरकारले वार्ता गर्न चाहेको खण्डमा डा.केसीका तर्फबाट वार्ता गर्ने टोली काठमाडौ मा नै रहेको , डा.केसी काठमाडौ आएपछि मात्रै वार्ता हुनसक्छ भन्नु सरकारले आफुलाइ झुक्याउने चाल रहेको हुनसक्ने डा.केसीको आशंका रहेको छ ।
मौसम र उच्च अल्टिट्युडका कारण नयाँ नयाँ समस्याहरु देखिन थालेको छ । दोस्रो तेस्रो दिनदेखि रगतमा अक्सिजनको मात्रा घट्न थालेको थियो । शुक्रबार पनि त्यसका कारण सास फेर्न गार्हो हुने, बोल्दा सास बढ्ने, उठेर बस्न गार्हो हुने समस्या कारण डा.केसीलाई निरन्तर कृतिम अक्सिजन नाकबाट दिइएको छ ।
कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन । पिसाबमा केटोन बडी अत्याधिक देखिन थालेको छ । शरिरमा सन्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ ।
यसैका कारण पहिलो दिनको तुलनामा डा.केसीको तौल ९ केजी घटिसकेको छ । डा.केसीको मागमा समर्थन जनाउँदै शुक्रवार नेसनल रेजिडेन्ट डाक्टरर्स असोसिएनसले सांकेतिक रुपमा विरोध प्रदर्शन गर्न माइतीघर मण्डलाको सडकमै ओपिडी सेवा संचालन गरेका थिए ।
त्यस्तै सोलाडारिटी फर प्रा.डा. गोविन्द के.सि. एलाइन्स, गंगामाया वचाउ अभियान, नेपाल मेडिकल एशोसिएसन, नेपाल वार एशोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जीनियर्स एशोसिएसन, आयुर्वेदिक एशोसिएसन अफ नेपाल, डक्टर्स सोसाइटी अफ नेपाल, नेपाल नर्सिंग युनियन, पव्लिक डिफेन्स एलायन्स, हेल्थ प्रोफ्सनल अर्गनाइजेसन,काठमाडांै विश्वविद्यालय प्राध्यापक संघ, गभर्मेन्ट डक्टर्स एशोसिएसन लगायत संस्थाका प्रतिनिधिहरुले पनि डा.केसीको जीवन रक्षाको माग गर्दै अपिल गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।