१० भदौ,चितवन – पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ। साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः संचालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा
रेस्टुरेन्ट पूर्णरूपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव
परेको थियो ।
आशिक प्रभावमा परेका घेरेजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको उनले बताए । बाढि गएका दिन सौराहामा ६०० पर्यटक रहेका थिए। त्यसपछि दुई साता न्यून पर्यटक मात्र रहेका थिए।
त्यस्तै होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले कोठामा पानी नपसेकाले बाढी गएको तेस्रो दिनबाटै होटल संचालनमा आएको बताए । सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरु गरेका थिए । दुवाडीले आज पनि होटलमा १० जना पर्यटक रहेको बताए । बाढी गएका दिन सो होटलमा ५७ जना पर्यटक रहेका थिए ।