काठमाडौं ।
थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।
उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ।’
उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमीलाल चौधरीले बताए ।
उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ, जसमा आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा (सत्यनारायण चौधरी सुमन), स्टल व्यवस्थापन उपसमितिको संयोजकमा (चन्द्र प्रकाश चौधरी), प्रचार प्रसार तथा सदस्य सचिव संयोजकमा (प्रदीप लेखी, किशोर चौधरी सदस्य, सहदेव चौधरी), विज्ञापन व्यवस्थापन उपसमितिको संयोजकमा (चन्द्रप्रसाद चौधरी), सांस्कृतिक उपसमिति संयोजकमा (नन्दुराज चौधरी, राम स्वागत चौधरी सदस्य, विनय वैद्य सदस्य), मोटरसाइकल र्याली व्यवस्थापनको संयोजकमा (अधिकार चौधरी), ब्लड डोनेशनमा (पुष्पा चौधरी), झाँकी र्याली व्यवस्थापनको संयोजकमा (बर्दियाली विकास मञ्च), निसराउ व्यवस्थापन समितिमा (थारू महिला समाज, थारू महिला सभा र अग्रासन महिला समूह), अतिथि सत्कार व्यवस्थापन उपसमितिमा (थारू महिला समाज/थारू महिला सभा र अग्रासन महिला समूह), जिता मार्ने उपसमितिमा (बर्दियाली विकास मञ्च), फोहोरव्यवस्थापन उपसमितिमा (जोगा चौधरी र शत्रुघनप्रसाद चौधरी) रहेका छन् ।
२० भन्दा थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए ।
प्रचार प्रसार गर्ने उद्देश्यका साथ र्याली पुस २८ गते शनिबार बिहान ७ बजे मोटरसाइकल र्याली तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी र्याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक उनको भनाइ छ ।
उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्चले गरेको छ ।
यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया,हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा,लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।
महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री,अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु,माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् ।
बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी,तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिने छ । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।
हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।
साथै हस्तकलाका सामग्रीहरु भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो),लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया,
चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका,भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा समेत राखिने छ । महोत्सवमा सहभागि भएकाहरुले मन पराएका हस्तकला तथा पुस्तकहरु निश्चित दरमा खरिद गर्न सक्नेछन् ।
महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।