म कुनै धर्म नमाने पनि धर्मको बारेमा पाएजति पढ्छु किनकी मानिसले आफ्नो स्वार्थको निम्ती बनाएका यो धर्म भन्ने चिज कति अव्यवहारिक र अतिबाद तर्फ उन्मुख छन त्यो जान्न जरुरी हुन्छ । धर्मशास्त्र र नीति शास्त्र दुबैले भन्छ “दान दातब्य आफ्नो गच्छे अनुसार दिनुपर्छ ।” धर्मशास्त्रले नै यसो पनि भनेको छ “एउटा हातले दिएको अर्को हातलाई पत्तो नहोस ।” अहिलेको देखिने युगमा त्यसो हुनु र गर्नु निक्कै गाह्रो छ तर अहिले नेपाली प्रवासी समाजमा मैले चाँही यति दिएँ (समाचारको एट्याचमेन्टसंगै) अरुले दिएनन् अथवा महापुराणमा फलानो आएनन, एनआरएन पनि आएनन आदी ईत्यादीको अव्यवहारिक चियोचर्चाले बजार भाउ पाउन थालेको छ ।
अहिले चर्चाको शिखरमा छ रिजउड नेपाली समाजले आयोजना गरेको धार्मिक अनुष्ठान “श्रीमद्भागवत महापुराण” र दुर्गा मन्दिर निर्माणार्थ चन्दा संकलन कार्यक्रम । कुरो सफा अनि स्पष्ट छ यो अनुष्ठान र योजना हिन्दु धर्मसंग गाँसिएको अनि जोडिएको छ । अब रिजउड नेपाली समाजले नै सानो चित्त गरेर अथवा आफ्नो लक्ष स्पष्ट पारेर हिन्दु धर्माबलम्बीहरुको मात्र पक्षपोषण गर्दै “दुर्गा मन्दीर” बनाउने भनेपछि बाँकी अरु धर्म मान्ने, हिन्दु धर्म नमान्ने अनि धर्मनै नमान्नेहरुले चन्दा दिएन महापुराण सुन्न पनि आएन भनेर किन आरन्यरोदन गर्ने?
बुझेर हो कि कमलो सकारात्मक मन भएर हो कुन्नी मेरा संचारकर्मी मित्र ज्योति कुमार श्रेष्ठले “सामुदायिक भवन” बनाउने महाअभियानमा एनआरएन अमेरिका किन सामेल भएन अब पहल गरोस भनेर लेखेका रहेछन । एनआरएन संस्थापनलाई कलबिखनै सम्झने केहि दर्जन बुझक्कडहरुले होमा हो मिलाएछन । आस्था र चाहना बिना एक्काईसौं शताब्दीको सचेत मान्छे कहीं जान्दैन । ज जसलाई धर्मको लागि मन्दीर चाहिएको हो उनीहरुले मन खोलेर ७५ हजार डलरसम्म दिएका छन त्यो सिर्फ दाताको चाहना अनि रुची हो ।
अब अरु प्लेन चड्यो भनेर मैले धुरी किन चड्ने? मसंग त्यस्तो बैभब र औकात भएको भए त मेरो आफु पढेको स्कुललाई दस थान ल्याब-टप किनेर पठाई दिन्थे । किनकी मेरो प्राथमिकता “धर्म” होइन “शिक्षा” हो भने थुप्रै हाम्रा साथीहरुको प्राथमिकता आफुले मानिआएको सनातन हिन्दु धर्म पर्यो त्यसैले दिल खोलेर दान दिए म उनीहरुको धार्मिक आस्थाको उच्च सम्मान गर्छु । मैले मेरा सबै अनन्य मित्रहरुले बुझ्ने गरि भन्न खोजेको यत्ति हो अबको युगमा मान्छेले स्वाधीन भएर बस्न पाउनु पर्छ । चन्दा आतंक कुनै पनि अर्थमा जायज होइन । कृपया यो प्रवासी नेपाली समाजलाई थप परपीडक बन्न नदिउँ ।
सत्यम, शिबम, सुन्दरम!
-शैलेश श्रेष्ठ