काठमाडौं ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले कुष्ठरोग बढ्ने कारण धेरै छन् । निवारणका क्षेत्रमा हामी धेरै पछाडि नै छौँ समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य २०३० मा प्राप्त गर्न निकै चुनौतीपूर्ण छ भन्नुभयो ।
७१ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै डा मिश्राले उक्त भनाई राख्नुभएको हो । उहाँले कुष्ठरोगको नियन्त्रणका लागि समुदायमा आधारित निगरानी तथा उपचार विधीको प्रयोग हुन नसक्दा सन् २०३० सम्ममा कुष्ठरोग निवारण लक्ष्य प्राप्त गर्नका लागि धेरै चुनौति रहेको बताउनुभयो । लक्ष्य प्राप्तिका लागि समुदाय केन्द्रित काम गर्ने सङ्घसंस्थाको सहयोगको आवश्यकता रहेकोले साझा प्रयासका लागि अनुरोध गर्नुभयो ।
उहाँले नयाँ कुष्ठरोगमा सबै भन्दा धेरै युवा र बालबालिका छन् उनीहरूलाई सबैको साझा प्रयासबाट मुक्ति दिनुपर्छ । यसका लागि सबै रोगको छुट्टा छुट्टै जनशक्ति छैन एकीकृत रूपमा गएनौ भने नियन्त्रण सम्भव छैन । यसका साथै पुर्नस्थापना र उपचारको पहुँचको जरुरी छ भन्नुभयो ।
हरेक वर्ष नेपालमा २५ सय देखि ३ हजारको हाराहारीमा कुष्ठरोगको नयाँ बिरामी पत्ता लाग्ने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७९-८० मा कुष्ठरोगको प्रकोप दर शून्य दशमल्भ ८५ रहेको छ भने १४ जिल्लाहरूमा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा बढी मानिसहरूमा रहेको छ भन्नुभयो ।
कुष्ठ प्रभावित व्यक्तिहरूले लाञ्छना, भेदभाव, र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गर्नुपरेको बताउनभयो । कुष्ठ प्रभावितहरूले भोग्न परेको यस अवस्थाको अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल गनुपर्नेमा जोड दिनुभयो र भन्नुभयो विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न २१ प्रकारका रोगहरूलाई उष्णप्रदेशीय रोगका रूपमा वर्गीकरण गरेको बताउनुभयो ।
जसमा डेंगी, चिकिगुनिया, रेबिज, खस्रे रोग, बुरुली अल्सर, कुष्ठरोग, चागस रोग, स्लीपिंग सिकनेस, कालाजार टेनियासिस,इकाइनो कोकोसीस, हात्तीपाइले लगायतका रोग रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव टंक प्रसाद बाराकोटीले नेपालमा कुष्टरोगीको संख्या बढेको छ । खोजी बढेको हो कि रोगनै बढेको हो यकिन हुनुपर्छ ।
हामी सबै काम गर्छौ टुंंगोमा पुग्ने बेलामा अड्किन्छ । यसका साथै जलवायु परिवर्तनका कारण रोगको स्थानान्तरण हुने प्रक्रियामा समेत वृद्धि भएको छ भन्नुभयो । सोही अवसरमा डा. अनुप बास्तोलाले कुष्ठरोग नियन्त्रण धेरै काम भएका छन् । यसका साथै काठमाडौँ भित्रैका कुकुरहरूमा रेबिजका भाइरस भेटिएका छन् । यस्ता रोगका विषयमा नेपालले धेरै अनुसन्धान गर्नु जरुरी छ भन्नुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्बाहोजिराब पाण्डवले कुष्ठरोगका विषयमा जनचेतनाको खाँचो छ । विश्व स्वास्थ्य संंगठनले यस्ता रोग नियन्त्रणका लागि सधैँ साथ र सहयोग गर्नेछ भन्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।