बारा।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसंग पहल गरिदिन सार्वजनिक अपिल गरेको छ ।
ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसंग आग्रह गरेको हो ।
पुल छेउमै होडिङ्ग बोर्ड राखेर सार्वजनिक गरिएको सूचनामा भनिएको छ– यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहरेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ ।’
समयमै भुक्तानी नपाएको कारण देखाउँदै कम्पनीले हाल निर्माणको कामसमेत रोकेको छ । ठेकेदार कम्पनीका सञ्चालक रवि सिंहले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाएका छन् । सम्झौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिले ५ वर्ष पूरा भइसक्दा पनि निर्माण कार्य ५६ प्रतिशत मात्रै काम पूरा भएको छ । सञ्चालक सिंहले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत गर्नसक्ने गरी काम सम्पन्न गर्ने बताएका छन् ।
ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण स्थालमा नै सार्वजनिक सूचना टाँस गरेको हो ।
ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले आर्थिक वर्ष २०७४-२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको र ढिला काम शुरु भएको बताए । २०७९-०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्मको लागि म्याद थप गरिएको छ । साबिक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसँगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न १५ करोड १२ लाखमा ठेक्का लगाइएको थियो । तर पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।