भैरहवा ।
फागुनको पहिलो दिन नै पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए। १३ जनाको सिट क्षमता रहेको जिपले २७ जना यात्रु बोक्दा दुर्घटना भएको थियो।
जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए। सोही बसमा सवार अन्य ३० जना घाइते भए।
बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए।
तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो। यी त प्रतिनिधिमुलक घटना मात्र हुन्। लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ।
फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ।
विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढिरहेको छ। ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एक अर्कालाई दोष दिइरहेका छन्।
ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ। बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताए। तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ।
हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन्। मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चाप लगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रुपमा रहेका छन्।
प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत-साधन रहेको बताए। ‘ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ। अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,’ उनले भने, ‘हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन।’
उनले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताए। यसका लागि स्थानीय निकायहरुसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उनको भनाइ छ। सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको तर्क छ।
दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरुको भनाइ छ। सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन्। उनले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताए।
‘चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरुमा व्यस्त हुने गरेको छ,’ उनले भने, ‘यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ।’
अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उनको भनाइ छ। यस बाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उनको आरोप छ।
जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको भन्दै उनले प्रदेशले कति जरिवाना उठाउने भन्ने निर्क्योल हुनुपर्ने धारणा राखे। खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्ययोजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिए।
लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी पाँच सय २७ जनाले ज्यान गुमाएका थिए। सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ।
आव २०७८/०७९ मा एक हजार एक सय ६४ सवारी दुर्घटनामा परी पाँच सय ५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार एक सय २३ जना गम्भीर घाइते तथा पाँच सय १७ जना सामान्य घाइते भएका थिए।
आव २०७९/०८० मा भने आठ सय ९२ सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार सय ६२ रहेको थियो। सो आर्थिक वर्षमा सात सय ९९ जना गम्भीर घाइते तथा चार सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।