दोलखा।
दोलाखको भीमेश्वर नगरपालिका वडा नम्बर– २ तिखातलमा रहेको तिखातल प्राथमिक विद्यालयले शुक्रवार एक दिने शैक्षिक मेला– २०८० सम्पन्न गरेको छ ।
व्यवहारिक शिक्षाको प्रवर्द्धन गर्दै दिगो सिकाइलाई प्राथमिकता दिने उदेश्यले शैक्षिक मेला– २०८० आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर जोशीले बताए ।
शैक्षिक मेला– २०८० मा कक्षा– १ देखि कक्षा– ५ सम्मका विद्यार्थीहरुले तयार गरेको माछा बनाउने खेल, वाटर साईकल, तानाग्राम खेल, भिन्न त्रिभुज बनाउने खेल, जिल्लाको नक्सा बनाउने तरीका, खानाका प्रकार छुट्टाउने तरीका, एक दलीय र दुई दलीय विउ छुट्टाउने तरीका लगायत समावेश गरिएको थियो । मेलामा अभिभावकहरुले उत्पादन गरेका कृषि सामग्री समेत राखिएको थियो ।
विद्यालयमा प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप सञ्चालन हुने र हरेक वर्ष शैक्षिक मेला समेत सञ्चालन गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनम श्रेष्ठले बताए । शैक्षिक मेलामा विद्यार्थीले तयार गरेका विभिन्न शैक्षिक सामग्रीहरु राखिएको र त्यसले विद्यार्थीको उत्साहमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनम श्रेष्ठको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन कार्यक्रममा बागमति प्रदेश सांसद भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नगरका प्रवक्ता एवं वडा नम्बर– ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शङ्करबाबु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तीर्थ बहादुर जोशी, शिक्षक भवानी खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।