१४ भदौ , काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ ।
थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान स्वीकार गरेको एउटा राजनीतिक दलले शान्तिपूर्ण रुपमा गरेको अर्को दलको कार्यक्रममा ढुङगामुढा गरेर गैरसंवैधानिक हर्कत देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् | “अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, त्यो सम्य समाजलाई ग्राह्य हुँदैन, समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्,” अध्यक्ष ओलीले भन्नुभयो ।
एमाले नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपाल सहभागि कार्यक्रममा मंगलबार धनुषामा राजपाका कार्यकर्ताले ढुङ्गा हानेका थिए । उहाँले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोगको चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गरेको छ, यो क्रियाकलाप निर्वाचन आचारसंहिताभित्र पर्दछ कि पदैन’’ भनी प्रश्न गर्नुभयो ।
ओलीले सरकारले प्रदेश र केन्द्रीय संसदको चुनाव मंसिर १० र २१ गते दुइ चरणमा तोकेर गल्ति गरेको पनि बताए र निर्वाचन आयोग र सत्तापक्ष गठबन्धनले गर्ने निर्वाचनमाथि विगतमा गरिएको स्थानीय तहको निर्वाचन हेरेर निष्पक्षताको प्रश्न उठेको गुणासो गर्नुभयो ।
उहाँले आफ्नो स्वास्थ्यस्थिति राम्रै भएको प्रतिक्रिया पनि दिनुभयो । ओली गत भर्दौ नौ गते नियमित स्वास्थ्य परिक्षण गर्न बैंकक गएका थिए ।