काठमाडौं ।
कौशल अङ्ग्रेजी बोर्डिङ स्कूलले वृहत् विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे छ । तारकेश्वर नगरपालिका ८ मा आयोजित कार्यक्रम काठमाडौँ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विचारी प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यही फागुन ४ गते शुक्रवार देखि सुरु भएको कार्यक्रममा कौशल माविका संचालक समितिका अध्यक्ष एवम् वृहत् विज्ञान तथा कला प्रदर्शनी कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उपस्थितहरुलाई स्वागत गरेका थिए। सोही स्कूलका भाइस प्रिन्सिपल डा. भरत प्रसाद भण्डारीले स्कूल ज्ञान – विज्ञान सेयर गर्ने थलो भएको बताए ।
उनले विज्ञान प्रविधिको विकास विना अहिलेको शिक्षा प्रतिस्पर्धात्मक हुन नसक्ने बताए । कार्यक्रममा प्रिन्सिपल शिव अर्यालले परम्पराको शैलीबाट अध्यापन गराउँदा विद्यार्थीहरू विश्व बजारमा बिक्न र टिक्न नसक्ने धारणा राखे ।
उनले आफ्नो कौशल स्कूलले व्यवहारिक शिक्षामा जोड दिएको बताए । यस्तै सामुदायिक स्कूल जीतपुर माविका प्रधानाध्यापक तथा कार्यक्रमका विशेष अतिथि हरिकृष्ण अर्यालले पि.पि.पि सम्झौता अनुसार कौशल स्कूल जीतपुर माविबीच सिकाइका विषयहरू आदान प्रदान गर्ने अभ्यासले दुवै स्कूल परिवारलाई फाइदा हुनेतर्फ संकेत गरे।
यस्तै कार्यक्रमका विशेष अतिथि काठमाडौं प्याव्सन प्रेम कुमार राईले स्कूल परिवारको प्रसंशा गर्दै स्कूल परिवारको प्रगतिको कामना गरे। कार्यक्रममा प्रमुख अतिथि विचारी प्रसाद अधिकारीले विद्यार्थीलाई धेरै पुस्तक पढाउने भन्दापनि उनीहरुको क्षमतालाई प्रस्फुटन गर्नुपर्ने आवश्यकता औल्याए । उनले सामुदायिक तथा संस्थागत विद्यालयवीच शेयर तथा प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै प्रतिस्पर्धाबाट गुणस्तर वृद्धि हुने बताए।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, हिसान तारकेश्वर शैक्षिक मञ्च, ओप्स, प्याब्सन काठमाडौं तथा तारकेश्वर प्याब्सनका अध्यक्षका साथै पदाधिकारीहरू, विभिन्न स्कूलका प्रधान अध्यापक, शिक्षक तथा शिक्षा प्रेमीको उपस्थिति रहेको थियो।
विभिन्न स्कूलबाट भिजिटरका रूपमा आएका ३५०० विद्यार्थी एवम् शिक्षकले कौशल स्कूलको प्राङ्गन भरिएको थियो । विज्ञान तथा कला प्रदर्शनी कार्यक्रममा अभिभावकले आफ्ना विद्यार्थीका नृत्य, गीतसंगीत, नाटक, चित्रकला, विज्ञान र प्रविधिका सिर्जनाहरू चरणबद्ध नियाली रहेकाे बताए ।
त्यसैगरी उक्त कार्यक्रममा स्कूलका भाइस प्रिन्सिपल डा .भरत प्रसाद भण्डारीलाई विद्यावारिधि विशेष उपाधि हासिल गरेकोमा सम्मान गरिएको थियो। विद्यार्थीले बनाएको ड्रोन उडाउँदा अझै कार्यक्रमको सुरुवात नै रमाइलो र आकर्षक देखिएको थियो ।
सुरेश न्यौपाने र सलिना महर्जनले उद्घोषण गरेको कार्यक्रममा , कार्यक्रम समापन गर्दै स्कूल संचालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बालबालिका बनाउन सके असल बनाउन सकिने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।