काठमाडौं ।
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा यही फागुन २० गते आइतबारदेखि त्रिपिटक पाठ हुने भएको छ।
अखिल नेपाल भिक्षु महासंघको आयोजनामा तीन दिनसम्म सो पाठ गरिने आईतबार बानेश्वरस्थित विश्व शान्ति विहारमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।
तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ – २०८० को नाम दिएर हुन लागेको सो पाठमा नेपालका भिक्षुसंगै भारत, थाईल्याण्ड, म्यानमारका भिक्षुहरूको समेत सहभागीता रहने महासंघका सचिव भिक्षु निग्रोधले जानकारी दिनुभयो।
उहाँले बुद्धजन्मभूमी लुम्बिनी विश्व शान्तिको मुहानको रूपमा प्रवद्र्धन गरी संसारभरि चिनाउने, लुम्बिनीको धार्मिक वातावरण अक्षुण्ण राख्दै सबैको मैत्री, करुणा र शान्तिको कामना गरी सो पाठको आयोजना गरिएको बताउनुभयो ।
त्रिपिटक बुद्धधर्मको मूल प्रमाणिक ग्रन्थ हो। २५ सय वर्ष अघि मागधि (पाली भाषा) मा लेखिएको सो ग्रन्थ सुत्र पिटक (सैद्धान्तिक र व्यावहारिक जनजीवनसम्बन्धी), विनय पिटक (विनय नियम) र अभिधम्म पिटक (चितसम्बन्धी) गरी तीन भागमा वर्गीकरण गरिएको छ।
भिक्षुमहासंघको आयोजनामा यस अघि दुई पटक त्रिपिटक पाठको आयोजना गरिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।