
टोकियो ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आज जापानको टोकियोमा सुरु भएको छ।
जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरूलाई आह्वान गरेका छन्।
इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरूलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्याएको योगदान उदाहरणीय रहेको उनले बताए। उनले इन्जाको पवित्र उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्याउन अन्य सङ्घ संस्थाहरूलाई आग्रह गरे।
नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत्, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थ रूपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै उनले जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा व्यक्त गरे।
उनले विश्वभर रहेका पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्ष्यअनुरूपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरे।
नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा विश्वभरिका पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उनले उल्लेख गरे।
इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एसिया शाखाका अध्यक्ष टङ्क पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एसिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुंग, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरूलाई गोलबद्ध गर्न पुर्याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गरे।
सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरू स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारहरूलाई उपचारलगायत आवश्यक सहयोग गर्दै आइरहेको छ।
पत्रकारिताको विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरूलाई फेलोसिप प्रदान गरेको थियो।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रीय सदस्य ध्रुव पौडेल, बिनेश खनाल, इन्जा एसियाका सदस्यहरू भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायत सहभागी छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।