काठमाडौं ।
काठमाडौं महानगरपालिकाले केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण (रेक्टोफिट) गर्ने प्रक्रिया अगाडि बढाएको छ।
यस क्रममा भवनलाई ऊर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि विल्डिङ इनर्जी इफिसियन्सी इन, नेपाल (बिन) सँग सम्झौता भएको छ।
शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र बिनका परियोजना प्रबन्धक डेनियल नेयरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
वागदरबारको सबलीकरण गर्दा ऊर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, शहरमा निर्माण गरिने भवनहरुलाई ऊर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन्।
सम्झौताका बारेमा जानकारी दिँदै आयोगका उपाध्यक्ष डा. राजभण्डारीले ‘बढ्दो वातावरणीय ह्रास घटाउन ऊर्जामैत्री भवन निर्माणमा काम शुरु भएपछि कार्बन उत्सर्जनबाट हुने असर कम गराउन मद्दत पुग्ने बताउनुभयो।
सम्झौतापछि प्रबन्धक नेयरले भन्नुभयो– ‘मानव बसोबासका लागि उपयुक्त शहर बनाउने प्रयासमा हामीले सहयोग गर्दै आएका छौं । बागदरबारको अध्ययनपछि हामीलाई आधारभूत तथ्याङ्क प्राप्त हुनेछ।’
काठमाडौंमा निर्माण हुने भवनहरुमा आवश्यक पर्ने ऊर्जाको न्यूनतम मात्राको आधारभूत तहको समेत अध्ययन भएको छैन। सम्झौतापछि यसको आधारभूत पक्ष कसरी निर्धारण गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।