काठमाडौं ।
सरस्वती बहुमुखी क्याम्पस समितिले मंगलबार शालिन पोख्रेलको लागि न्याय माग्दै क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेको छ ।
चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत फेला परेकी पोखरेलको लागि न्यायको माग गर्दै सरस्वती क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
‘जस्टिस फर शालिन पोख्रेल’ लेखेको ब्यानर र पम्प लेटसहित नाराबाजी गरेका उनीहरूले उक्त घटनाबारे सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही र शालिनको लागि न्याय दिन सरकार समक्ष माग राखेका हुन् ।
यस्तै, घटनाको सत्य तथ्य छानबिन नभएसम्म सरस्वती बहुमुखी क्याम्पसले चरणबद्ध रूपमा अन्तिमसम्म आन्दोलन गर्ने जनाएकाे छ । गोरखा अजिरकोट गाउँपालिका-५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालिन चितवनको रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन् ।
कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।शालिनका बुवा दीपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् । उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन् । शालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।