स्याङ्जा ।
कफीको लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले यो वर्ष कफी उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा करिब १४ मेट्रिक टन पार्चमेन्ट कफीको उत्पादन बढ्ने जिल्ला कफी सहकारी संघ लिमिटेड स्याङ्जाले जनाएको छ । सहकारीका अनुसार यसबर्ष ३० मेट्रिक टन पार्चमेन्ट कफी उत्पादन हुने अनुमान छ ।
सहकारीका अध्यक्ष फणिनारायण अर्यालका अनुसार गतबर्ष १६ मेट्रिक टन अर्थात १६ हजार किलो कफी उत्पादन भएको थियो । कफीबाटै यसबर्ष स्याङ्जाले झण्डै २ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । किसानका लागि फ्रेसचेरी (बोटबाटै टिपेर ल्याएको राता दाना) को प्रतिकिलो मूल्य १ सय १३ रुपैंया निर्धारण गरेको छ ।
सहकारी संघको बोर्ड बैठकको निर्णय अनुसार किसानलाई तत्काल प्रतिकिलोको १ सय रुपैंया हात पर्छ । ती मध्ये १० रुपैंया सहकारीमा जम्मा हुन्छ भने ३ रुपैंया कफी ढुवानीमा खर्च हुन्छ । राष्ट्रिय चिया तथा कफी बोर्डले निर्धारण गरेको मूल्य भन्दा बढी दिएर सहकारीले किसानको कफी खरिद गर्ने गर्दछ । सहकारी संघमा स्याङ्जामा ४ हजार ५ सय किसान आवद्ध छन ।
पछिल्लो समय स्याङ्जामा सुन्तला र कफी खेती फैलँदै गएको छ । स्याङ्जामा २०५६ सालदेखि ब्यावसायिक रुपमा कफी खेती सुरु गरिएको हो । करिब ३ सय हेक्टरमा कफी खेती गरिएको जनाइएको छ । पाखोबारी र वनजंगल भित्र कफीको उत्पादन राम्रो हुन्छ । रोपेको ३÷४ बर्षमै फल दिन्छ । कफी खेतीका लागि त्यती झन्झट र दुख पनि हुँदैन । स्याहार र संरक्षणमा भने ध्यान दिनु जरुरी छ । झण्डै दशकदेखि यहाँका कफी नेपाल स्टेट कफी कम्पनी मार्फत जापान निर्यात भएको छ । केही बर्षअघि यहाँका कफी जर्मन र हाइल्याण्ड कम्पनीमा पनि पुगेका थिए । स्याङ्जाका ११ मध्ये ८ वटा पालिकामा कफीको उत्पादन राम्रो छ ।
जिल्लामा ८ सय मिटर देखि १५ सय मिटर सम्ममा कफी खेती हुँदै आएको छ । पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ् नगरपालिका तथा फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिका कफी उत्पादन हुने उपयुक्तस्थल हुन । कामदारको अभावमा गाउँघरका जग्गा बाँझो रहन थालेपछि कफी रोप्ने काममा स्थानीयबासीले चासो देखाएका छन् ।
कफीको मूल्य तत्कालै नगद हातमै पाउने भएकाले पनि किसानको चासो बढेको हो । स्याङ्जामा यसबर्ष कफी उत्पादन राम्रो भएको कफी ब्यवस्थापक माया तिवारीले जानकारी दिनुभयो । कफी टिप्ने, संकलन गर्ने र प्रशोधनका कम समेत सुरु भएका छन् । केही कफी बोटमा पाक्दैछन्, केहि टिपिदैछन् । केही प्रशोधनका लागि पखाल्ने, सुकाउने, बोक्रा छोडाउने, प्याकिङ गर्ने काम पनि भैरहेको ब्यवस्थापक तिवारीको भनाई छ ।
कफी खेती गर्दा विरुवालाई घामपानीबाट जोगाउनका लागि विभिन्न प्रकारका तरकारी लगाइ त्यसलाइ घेर्ने गरेको पाइन्छ । त्यसो गर्दा तरकारीबाट पनि अतिरिक्त कमाई हुने गरेको छ । यहाँ सहकारीले कफी किसानलाई पायक पर्नेगरी कफी संकलन केन्द्र तोकेको छ । जुनसुकै समयमा जतिसुकै परिमाणमा ल्याए पनि सहकारीले कफी खरिद गर्ने गरेको छ । बजारको सुनिश्चितता र तत्कालै नगद पाउने भएपछि यहाँका किसानले कफी रोपण गर्दे आएको कफी किसान खुमकान्त खनालले बताउनुभयो ।
सहकारीले पनि कफी किसानलाई प्रोत्साहित गर्न बिरुवा र प्रबिधि खरिदमा अनुदान दिनुका साथै कफी किसानलाई आइपर्ने समस्यालाई तत्काल समाधान गर्दे आएको छ । कफी खेती गर्ने किसानहरुले कफी खेती प्रवर्धनका लागि विभिन्न माग राखेका छन् । जसअनुसार गुणस्तरीय प्राविधिक सेवा सहज उपलब्ध, सिचाइँको सुविधा उपलब्ध, व्यवसाय प्रवद्र्धनका लागि तालिम र अध्यायन भ्रमणको व्यवस्था रहेका छन् । त्यसैगरी कफी व्यवसाय प्रर्वद्धनका लागि अनुदान तथा सहयोग उपलब्ध, सहज तथा सहुलियत ऋण उपलब्ध, विऊ, बिरुवा, मल छहारी बोट, गुणस्तरीय औषधी सहज तथा सुलभरुपमा उपलब्ध, आधुनिक मेशिन औजरको व्यवस्था, उचित मुल्य निर्धारण, बीमाको व्यवस्था आदि माग छन् ।
जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रुपमा स्थापित हुँदै आएको छ । कफीका लागि उर्वर मानिएको स्याङ्जामा कफी रोपण कार्यलाई प्रोत्साहित गर्न सके आयआर्जन गर्ने गतिलो माध्यम बनाउन सकिन्छ । बिदेशीले समेत यहाँका कफीको स्वाद रुचाएका छन् । कफी निर्यातयोग्य बाली भएकाले यसले अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ । यसतर्फ सम्बन्धित पालिकाले ध्यान दिन सके कफीका माध्यमबाट राम्रो आजआर्जन बढाउन सकिने कृषिका जानकारहरुले बताउने गरेका छन् । स्याङ्जा लगायत पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान कार्यक्षेत्र रहनेगरी केहीबर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कफी सुपरजोन परियोजना पनि लागु भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।