काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ। २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो।
साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको नेपाल जोर्डनसँग हारेर उपविजेता भएको हो। डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिकाका गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ प्रदान गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद्की सदस्य समेत रहेकी एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामामार्फत उक्त रकम गुरुङले उपलब्ध गराएका थिए।
सोही रकम एन्फा महिला फुटबल संघका पदाधिकारीलगायतको उपस्थितिमा गुरुङकी श्रीमति उमा र अध्यक्ष लामाले खेलाडीलाई रकम हस्तान्तरण गरे।
सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित ८ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि हस्तान्तरण गरिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।